ज्योती गुरुङ २१ दिनभित्र अदालत उपस्थित हुनुपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार ०९:३३
धनराज र उनकी पूर्वपत्नी ज्योति ।

काठमाडौं । मितेरी सहकारी संस्थाको करिब साढे १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङ २१ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने भएको छ ।

ललितपुर जिल्ला अदालतले २१ दिनभित्र उपस्थित भई सबुतप्रमाणसहित प्रतिउत्तर पेस गर्न गुरुङलाई आदेश दिएको हो । अदालतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०५ को उपदफा २ अनुसार २१ दिने सूचना जारी गर्दै गुरुङलाई आफैं वा कानुनअनुसारका प्रतिनिधिमार्फत अदालतमा उपस्थित हुन भनेको छ ।

Advertisement

अब गुरुङले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र प्रतिउत्तर पत्रसहित अदालतमा उपस्थित हुनुपर्नेछ । म्यादभित्र उपस्थित नभएमा कानुनअनुसार मुद्दा अघि बढ्ने र पछि कुनै उजुर नलाग्ने चेतावनीसमेत दिइएको छ ।

ज्योती गुरुङ कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी हुन् । अदालतको सूचनामा भने उनको तीनपुस्ते विवरण उल्लेख गर्दै ‘धनराज गुरुङकी पत्नी’ भनेर पनि लेखिएको छ ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–२ लामडाँडा स्थायी घर भई हाल ललितपुर महानगरपालिका–१४ थसिखेल बस्दै आएकी ४८ वर्षीया गुरुङविरुद्ध लेनदेन सम्बन्धी मुद्दा दायर भएको हो । मुद्दा बोधविक्रम थापाले दायर गरेका हुन् ।

सोही अनुसार जिल्ला अदालतले यसअघि जारी गरेको म्याद बदर गर्दै २०८३ साल जेठ ५ गतेको आदेशअनुसार पुनः २१ दिने सूचना जारी गरेको सूचनामा उल्लेख छ । यसैबीच, मितेरी सहकारी संस्थाको साढे १२ करोड रुपैयाँ हिनामिना भएको आरोपपछि विवाद थप गहिरिएको छ ।

सहकारीका सचिव बोधविक्रम थापाका अनुसार सहकारीका महाप्रबन्धकसहित पाँच जनाविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी समेत दर्ता गरिएको छ । पूर्वसैनिकहरूले मिलेर ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थानमा कार्यालय रहने गरी स्थापना गरेको मितेरी सहकारी पछिल्लो समय ठूलो आर्थिक अनियमितताको आरोपमा विवादित बनेको हो ।

सहकारीका पदाधिकारीले रकम फिर्ता गर्न पटकपटक ताकेता गर्दा पनि कुनै प्रतिक्रिया नदिई ज्योती गुरुङ फरार भएकी छन् । गुरुङ २०५७ सालदेखि सहकारीसँग आवद्ध थिइन् । सुरुमा बचत संकलकका रूपमा प्रवेश गरेकी उनी २०७० सालमा कोषाध्यक्ष बनेकी थिइन् । पछि उनी महाप्रबन्धक पदमा पुगेकी थिइन् । महाप्रबन्धक बनेपछि नै उनले ठूलो रकम हिनामिना गरेको आरोप लागेको हो ।

सहकारीका पदाधिकारीहरूले उक्त आर्थिक अनियमिततामा तत्कालीन कर्मचारी ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाले समेत सहयोग गरेको दाबी गरेका छन् । सहकारीको रकम हिनामिनापछि पटकपटक सम्पर्क गर्न र फिर्ता गर्न ताकेता गर्दा पनि रकम फिर्ता नगरी उनी सम्पर्कविहीन बनेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.