
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको आयोगको आरोप छ। आयोगले उनीहरूलाई विशेष अदालतमा यसअघि नै दर्ता भएको एक मुद्दामा साक्षीका रूपमा उपस्थित गराएको थियो । सरकारी साक्षीका रूपमा उपस्थित प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले अनुसन्धानका क्रममा सहयोग नगरेको र गलत बकपत्र दिएको आयोगको दाबी छ ।
गत वैशाख २५ गते विशेष अदालतमा बकपत्र गर्दा अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बयान दिएको पुष्टि भएको छ।
आयोगले स्याङ्जा पुतली बजारका विप्लव पोखरेलविरुद्ध ५६ हजार ३५०, हेटौँडा उपमहानगरपालिकाका प्रल्हाद गौतमविरुद्ध ३७ हजार ५०० र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीका राजेश श्रेष्ठविरुद्ध २७ हजार ३५० रुपैयाँ बराबरको बिगो माग दाबी गरेको छ।
उनीहरूले सो बराबरको रकम ढुण्डिराज दाहाललाई घूसबापत दिएका थिए । दाहाल यसअघि नै घूस लिएको अभियोगमा पक्राउ परेका थिए।

























