
विराटनगर । विराटनगरमा जारी छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
विराटनगर रानीको लालीगुराँस स्पोर्टिङ क्लब पुगेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा विराटनगरले सुनसरीको इनरुवा फुटबल क्लबलाई ५–१ को फराकिलो गोल फरकमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
विराटनगरका सञ्जय लिम्बू र पूजन चौधरीले समान २–२ गोल गरे भने असिम राईले एक गोल गरेका थिए भने इनरुवाका लागि एक मात्र गोल मणि मगरले गरे ।
खेलको २९ औँ मिनेटमा पूजन चौधरीले गोल गर्दै विराटनगरलाई अग्रता दिलाए । ३७ औँ मिनेटमा विराटनगरका खेलाडीले डिबक्सभित्र मणि गुरुङलाई लडाएपछि इनरुवाले पाएको पेनाल्टीको अवसर गोल गर्दै खेललाई बराबरी पारे ।
५१ औँ मिनेटमा असिम राईले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए । त्यसको दुई मिनेट लगत्तै सञ्जय लिम्बूले गोल गरेपछि विराटनगर ३–१ को स्थितिमा पुग्यो । ५५ औँ मिनेटमा पूजन चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ गोलको अग्रता दिलाए । ६० औँ मिनेटमा सञ्जय लिम्बूले अर्को गोल थपेपछि विराटनगरले ५–१ को गोल अन्तरमा जित निकाल्यो ।
खेलको प्लेयर अफ द म्याच सञ्जय लिम्बूले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल विराटनगरको टीडब्लुवाइसी फुटबल क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

























