
विराटनगर । बढ्दो लागुऔषध दुर्व्यसनले युवापुस्ताको भविष्य, पारिवारिक संरचना र सामाजिक सुरक्षामाथि गम्भीर चुनौती सिर्जना गरिरहेका बेला मोरङमा यसको नियन्त्रणका लागि सर्वपक्षीय प्रतिबद्धता जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले गत आइतबारबाट सुरु गरेको ‘लागुऔषधविरुद्धको महाअभियान (मेगा क्यान–२०८३)’ अन्तर्गत कोशी प्रदेश सरकार, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, उद्योगी–व्यवसायी, सञ्चार क्षेत्र तथा विद्यार्थी प्रतिनिधिसहितका सरोकारवालाले संयुक्त रूपमा ९ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै लागुऔषधविरुद्ध साझा अभियानमा प्रभावकारी बनाउने घोषणा गरेका हुन् । मोरङ प्रहरीले विराटनगरबाट औपचारिक रूपमा सुरु गरेको अभियानलाई जिल्लाका १७ वटै स्थानीय तहसम्म विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ ।
अभियानको उद्देश्य युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउँदै दुर्व्यसनमुक्त समाज निर्माण गर्नु रहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । प्रतिबद्धतापत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल, संघीय सांसदहरू, विभिन्न पालिकाका प्रमुख, उद्योगी व्यवसायी, होटल व्यवसायी, औषधि व्यवसायी, यातायात व्यवसायी, पत्रकार महासंघका प्रतिनिधि, नागरिक अगुवा तथा विद्यार्थीहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतापत्रमा लागुऔषध उत्पादन, ओसारपसार र कारोबार नियन्त्रणका लागि प्रहरी, स्थानीय तह र सरोकारवाला निकायबीच सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउने उल्लेख छ । विद्यालय, क्याम्पस, क्लब तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, दुर्व्यसनमा फसेकाहरूलाई परामर्श, उपचार र पुनःस्थापनामा सहयोग गर्ने तथा युवालाई खेलकुद, गीत संगीत, योग, ध्यान, सीप विकास र रोजगारमूलक कार्यक्रममा जोड्ने प्रतिबद्धता पनि जनाइएको छ ।
यसैगरी, स्थानीय तहमा लागुऔषध नियन्त्रण तथा न्यूनीकरण कार्यक्रमलाई प्राथमिकता दिँदै नीतिगत व्यवस्था र बजेट व्यवस्थापन गर्न पहल गर्ने, अभियानलाई सरकारी कार्यक्रमका रूपमा सीमित नराखी सामाजिक आन्दोलनका रूपमा विस्तार गर्ने तथा ‘शून्य सहनशीलता’को नीति अवलम्बन गर्दै सुरक्षित र समृद्ध मोरङ निर्माणमा निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ ।
अभियानको पहिलो चरणअन्तर्गत आइतबार बिहान विराटनगरमा विशाल प्रभातफेरी निकालिएको थियो । लागुऔषधविरुद्धका सन्देश लेखिएका प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी, युवा, नेपाल स्काउट, नागरिक समाज तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिनिधिसभा सदस्य आशा झाले रिबन काटेर प्रभातफेरीको उद्घाटन गरेकी थिइन् । त्यसपछि सहिद रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागुऔषधले व्यक्ति मात्र नभई परिवार, समाज र राष्ट्रिय अर्थतन्त्रलाई समेत ध्वस्त पारिरहेको बताए । उनले यसको नियन्त्रणका लागि प्रहरीको कारबाही मात्रै पर्याप्त नहुने उल्लेख गर्दै अब ‘सामूहिक युद्ध’ आवश्यक भएको धारणा राखे ।

‘लागुऔषधले युवालाई शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा सिध्याइरहेको छ । समाजलाई अन्धकारतर्फ धकेलिरहेको छ,’ कार्कीले भने, ‘यसलाई रोक्न अब समाजका सबै तहबाट सचेतनाको लहर उठ्नुपर्छ ।’ अभियानको दोस्रो चरण विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा लागुऔषधको असर र त्यसले परिवार तथा समाजमा पार्ने प्रभावलाई केन्द्रमा राखेर तयार गरिएको ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको नाटक, सचेतनामूलक सांगीतिक प्रस्तुति तथा पूर्वलागुऔषध प्रयोगकर्ता कपिलदेव आचार्यको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
मुख्यमन्त्री कार्कीले लागुऔषध दुर्व्यसन अहिले समाजको गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक र युवाबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले मोरङ प्रहरीले सुरु गरेको अभियानले युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै प्रदेश सरकारबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशी, गृह मन्त्रालय नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव एवं लागुऔषध नियन्त्रक सुमन घिमिरे, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल लगायतले लागुऔषधविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले लागुऔषध नियन्त्रणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताए । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लामा लागुऔषध दुर्व्यसनको अवस्था चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अभियानको आवश्यकता र उद्देश्यबारे जानकारी गराएका थिए ।
कोशी अस्पतालकी डाक्टर अजिता पौडेलले लागुऔषध दुर्व्यसनले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरबारे सचेतना दिएकी थिइन् । यसैबीच, युवामाझ अभियानलाई थप प्रभावकारी बनाउन मोरङ प्रहरीले ‘लागुऔषधविरुद्ध टिकटक भिडियो प्रतियोगिता’ घोषणा गरेको छ । ‘बढ्दो लागुऔषधविरुद्ध एकजुट होऔँ’ भन्ने मूल सन्देशमा आधारित भिडियो तयार गरी प्रतियोगितामा सहभागी हुन सकिने प्रहरीले जनाएको छ । प्रतियोगितामा जेठ मसान्तसम्म भिडियो पठाउन सकिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ४० हजार, तेस्रो हुनेलाई ३० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एसपी कटवालले जानकारी दिए । मोरङ प्रहरीले लागुऔषध नियन्त्रणमा कानुनी कारबाही मात्रै पर्याप्त नहुने निष्कर्षसहित जनचेतना, पारिवारिक निगरानी, सामुदायिक सहकार्य र युवामाझ सकारात्मक सन्देश प्रवाहलाई अभियानको मुख्य आधार बनाइएको छ । प्रहरीका अनुसार अभियानलाई दीर्घकालीन सामाजिक आन्दोलनका रूपमा अघि बढाइनेछ ।


























