शव फेला परेको ठाउँमा आएका स्थानीय ।विराटनगर । मोरङको बक्राहा खोला किनारमा मंगलबार बिहान सडेर दुर्गन्धित भएको अवस्थामा महिलाको शव फेला परेको घटना रहस्यमय रहेको भन्दै प्रहरीले मृतकका पतिलाई नियन्त्रणमा लिएको छ ।
उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव मंगलबार बिहान खोला किनारको काँसघारीमा फेला परेको थियो । महिलाको मृत्यु रहस्यमय देखिएपछि सविताका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार राँगा चराउन गएका स्थानीयले उर्लाबारी–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिजनजिक काँसघारीमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ तत्काल इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएको थियो ।
तेह्रथुममा रहेका माइती पक्ष आइपुगेपछि कानुनी प्रक्रिया पूरा गर्दै घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मृत फेला परेकी सविता ४ दिनदेखि हराइरहेको पाइएको छ ।
उर्लाबारीमै सिलाइकटाइको काम गर्दै आएकी उनी जेठ ९ गते शनिबारदेखि सम्पर्कविहीन बने पनि परिवारले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएको थिएन । अचानक काँसघारीमा घोप्टो परेको शव फेला परेको जानकारी प्रहरीलाई मंगलबार बिहान ७ः४० बजेतिर आएको थियो ।
महिलाको मृत्यु रहस्यमय देखिएको जानकारी पाएपछि कोशी अस्पतालका फरेन्सिक विज्ञसहित मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका थिए । घटनास्थलमा गएर शव एवं घटनास्थलको प्रकृति नियालेका फरेन्सिक चिकित्सकले पनि घटनाका बारेमा यकिन गर्न सकेनन् ।
‘महिलाको मृत्यु के कारणले भएको भन्ने यकिन हुन सकेको छैन । शरीर सुन्निएको र सडेर पूरै दुर्गन्धित भएको अवस्थामा शव भेटिएको हो । प्रारम्भिक अनुसन्धानबाट कुनै निष्कर्षमा पुग्न सकिएन । शवको पोस्टमार्टम गरेर विस्तृत परीक्षण एवं अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्छ,’ डीएसपी श्रेष्ठले भने । मृतकको शवको सनाखत उनले लगाएका कपडाको आधारमा श्रीमान दिलबहादुरले गरिदिएका हुन् ।
मृतकको माइती पक्षले हत्या गरेर शव फालेको हुनसक्ने आशंका गर्दै गहिरो अनुसन्धान गरेर वास्तविकता पत्ता लगाई दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् । महिला ४ दिनदेखि सम्पर्कविहीन हुँदा पनि प्रहरीलाई खबर नगरिएको लगायतका कारणले मृत्यु शंकास्पद एवं रहस्यमय देखिएको प्रहरी स्रोतले बतायो ।
‘प्रहरीलाई कुनै जानकारी नदिइकन परिवारका सदस्य मात्रै मिलेर खोजी गरेको पाइयो । प्रहरीलाई जानकारी नदिएकै कारण घटना शंकास्पद देखिन्छ । महिलाले घर छाड्नुअघि परिवारमा सामान्य झगडा एवं विवाद भएको विषय पनि आएको छ,’ प्रहरी स्रोतले भन्यो । प्रहरीको नियन्त्रणमा रहेका सविताका पति दिलबहादुरले भने पत्नीले घर छाड्नुअघि सामान्य भनाभन एवं विवाद मात्रै भएको र अरु केही नगरिएको प्रहरीलाई बताएका छन् ।
‘सामान्य पारिवारिक विवाद भएपछि सविताले घर छाडेर हिँडेकी हुन् । फर्किएर नआएपछि सबै मिलेर खोजी गरिरहेका थियौं । तर, अचानक शव भेटियो,’ दिलबहादुरको भनाइ उदृधृत गर्दै प्रहरी स्रोतले भन्यो । मृतक सविता गत शनिबार बिहान ९ बजेतिर परिवारका सदस्यलाई जानकारी नदिइकन घर छाडेर हिँडेको उनका पति दिलबहादुरले बताएका छन् ।
तर, सविताको मृत्यु कसरी भयो भनेर प्रारम्भिक अनुसन्धानबाट यकिन हुन नसकेको प्रहरीले जनाएको छ । इन्स्पेक्टर वली नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । शव फेला परेको घटनास्थल उर्लाबारी चोकबाट करिब ७ किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

























