
विराटनगर । पाहुना टोली उदयपुरलाई स्तब्ध पार्दै विराटनगरको टीडब्लुवाइसी फुटबल क्लब
छैटौँ मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा विराटनगरले उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोलमा हराउँदै उपाधि नजिक पुगेको हो ।
खेलको ४३ औँ मिनेटमा दोर्जे तामाङले गरेको गोल नै विराटनगरका लागि निर्णायक बन्यो । उनको त्यही गोल मद्दतले टोलीले फाइनल यात्रा तय गरेको हो । तामाङ खेलको प्लेयर अफ द म्याच हुँदै २ हजार १ सय रुपैयाँ प्राप्त गरे ।
मिल्स गोल्डकप फुटबल ट्रस्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको अन्तिम सेमिफाइनल खेल विराटनगरको कोशी प्रदेश प्रहरी कार्यालय र विराटनगर रानीको लालीगुराँस फुटबल क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख १ हजार १ सय ११ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

























