
काठमाडौं । भदौं २३ र २४ घटनामा शंकास्पद भूमिका निर्वाह गरेका राष्ट्रिय स्वतन्त पार्टी रास्वपा सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको छ ।
सभापति लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउन संलग्नता रहेको किटान सहित उनी माथि सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिस गरेको हो । यो घटनामा प्रवक्ता मनिष झा र नेता हरि ढकालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ ।
रास्वपाका सांसद सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा.तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवलाई अनुसन्धान गर्न सिफारिस गरेको छ ।
रास्वपा केन्द्रीय सदस्य खेमराज साउद र बाजुराबाट रास्वपा उम्मेदवार बनेका हेमराज थापालाई पनि अनुसन्धान गर्न भनिएको छ । प्रदर्शनअघि, प्रदर्शन जारी रहँदा र पछि पनि उनीहरूले विवादित अभिव्यक्ति दिएका थिए ।
‘उनीहरूको अभिव्यक्तिले प्रदर्शनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्न विभिन्न कोणबाट टिका टिप्पणी समेत देखिँदा २३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षति समेता निजहरूको संलग्नता रहेरनरहेको निजहरूको अभिव्यक्तिबाट समेत प्रदर्शनकारी आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा अनुसन्धान हुन आवश्यक देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ को प्रदर्शनमा भएको दमन र भोलिपल्टको घटनाबारे छानबिन गरी प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

























