
काठमाडौं । सरकारले आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रोत्साहित गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो अभियान सञ्चालन गरिने घोषणा गरेका हुन् ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले सामाजिक सुरक्षा प्रणालीलाई अझ न्यायोचित, लक्षित र प्रभावकारी बनाइने बताए । त्यसका लागि ‘छोडौँ, नसक्नेलाई जोडौँ’ भन्ने राष्ट्रिय अभियान सञ्चालन गरिने उनले उल्लेख गरे ।
सरकारले आर्थिक रूपमा सक्षम व्यक्तिले स्वेच्छिक रूपमा भत्ता त्यागे त्यसलाई अन्तरपुस्तागत न्याय र राष्ट्रिय योगदानप्रतिको ऐक्यबद्धताका रूपमा सम्मान गरिने जनाएको छ । यसैबीच, सरकारले देशभर वितरण हुँदै आएको बाल पोषण भत्ता दोब्बर बनाएको छ । अब उक्त भत्ता मासिक पाँच सयबाट बढाएर एक हजार रुपैयाँ पुर्याइने घोषणा गरिएको छ ।

























