मुख्यसचिवदेखि सहायकसम्मको तलब बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १८:४६

काठमाडौं । सरकारले निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूको आधारभूत तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत पछिल्लो चार वर्षदेखि तलब समायोजन नहुँदा र मूल्यवृद्धि १७.३ प्रतिशतसम्म पुगेकाले कर्मचारीहरूको जीवनयापन सहज बनाउन नयाँ तलब संरचना ल्याइएको बताएका हुन् । नयाँ व्यवस्थाअनुसार आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता र यसअघि दिइँदै आएको पाँच हजार रुपैयाँ महँगी भत्ता पनि निरन्तर रहने भएकाले समग्रमा करिब २१ प्रतिशतसम्म तलब वृद्धि हुने अनुमान गरिएको छ ।

Advertisement

नयाँ तलब संरचनापछि सबैभन्दा माथिल्लो तहका मुख्यसचिवको मासिक कुल पारिश्रमिक करिब ९८ हजार ४२५ रुपैयाँ पुग्ने भएको छ । हाल ७७ हजार २११ रुपैयाँ आधारभूत तलब पाइरहेका मुख्यसचिवको तलब ८४ हजार ९३२ रुपैयाँ पुगेको छ । जसमा प्रोत्साहन भत्ता र महँगी भत्ता जोडिँदा कुल रकम झन्डै एक लाख नजिक पुगेको हो ।

सचिव स्तरका कर्मचारीहरूको पनि करिब सात हजार रुपैयाँ हाराहारी आधारभूत तलब वृद्धि भएको बताइएको छ । त्यसैगरी, सबैभन्दा तल्लो तहका कर्मचारी मानिने कार्यालय सहायकहरूको तलब पनि उल्लेखनीय रूपमा बढ्ने भएको छ ।

हाल २७ हजार ६११ रुपैयाँ आधारभूत तलब पाउँदै आएका उनीहरूको तलब ३० हजार ३७२ रुपैयाँ पुगेको छ । प्रोत्साहन भत्ता र महँगी भत्ता जोड्दा उनीहरूको मासिक आम्दानी करिब ३८ हजार रुपैयाँसम्म पुग्ने छ । अर्थमन्त्री वाग्लेका अनुसार नयाँ व्यवस्थाले न्यूनतम तहका कर्मचारीको आधारभूत तलब करिब ४० हजार रुपैयाँसम्म पुग्ने अवस्था बनाएको छ ।

सरकारले पेन्सन प्रणालीमा पनि नयाँ समायोजन लागू गर्ने जनाएको छ । पेन्सन प्राप्त गर्ने कर्मचारीहरूले आफ्नो आधारभूत तलबको दुईतिहाइ हिस्सा आधार मानेर थप वृद्धि पाउनेछन् । जसअनुसार पूर्वमुख्यसचिवहरूको पेन्सन करिब पाँच हजार रुपैयाँले बढ्ने अनुमान गरिएको छ ।

यसअघि २०७९ सालको बजेटमार्फत १५ प्रतिशत तलब वृद्धि भएयता कर्मचारीहरूको तलबमा पुनः समायोजन भएको थिएन । त्यतिबेला मासिक दुई हजार रुपैयाँ महँगी भत्ता दिइँदै आएकोमा पछिल्लो वर्षदेखि पाँच हजार रुपैयाँ एकमुष्ट महँगी भत्ता दिइँदै आएको हो ।

सरकारले आगामी दिनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीहरूको तलब पनि यही संरचनासँग समायोजन हुने जनाएको छ । सबै सार्वजनिक सेवामा नयाँ तलबमान र सुविधासम्बन्धी विस्तृत विवरण केही दिनभित्र सार्वजनिक गरिने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.