
विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयले दिएका सुझावलाई सम्बन्धित निकायले अक्षरशः कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
बेरुजु नियन्त्रण र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न महालेखाले औंल्याएका विषयहरू बेवास्ता गर्न नहुने भन्दै कडाइका साथ पालना आवश्यक रहेको उनले बताए । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखा परीक्षक कार्यालय कोशी प्रदेशले आर्थिक वर्ष २०८१–८२ को आठौं वार्षिक प्रतिवेदन बुझाउने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले बेरुजु तथा अनियमित खर्चले प्रदेश मात्र नभई समग्र राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्ने उल्लेख गरे । उनले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न जिम्मेवार निकायहरू थप संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम नायब महालेखा परीक्षक श्रीकुमार राईले उक्त वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका थिए । प्रतिवेदन बुझाउने क्रममा नायब महालेखा परीक्षक राईले कोशी प्रदेशमा बेरुजु दर अन्य प्रदेशको तुलनामा कम रहेको जानकारी दिए । उनका अनुसार बागमती र गण्डकी प्रदेशपछि कोशी प्रदेशमा सबैभन्दा कम बेरुजु देखिएको छ ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१–८२ मा कोशी प्रदेशमा १.०६ प्रतिशत बेरुजु देखिएको छ । प्रतिवेदनमा सार्वजनिक खर्च व्यवस्थापन सुधार भएमा यो दर अझ घटाउन सकिने सम्भावना रहेको पनि उल्लेख गरिएको छ । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव, कर्मचारी तथा महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।



















