अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १५:३७
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय

ताप्लेजुङ । विद्यार्थीहरूमा अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक यज्ञ पौडेलका अनुसार सुरुमा एक जनामा देखिएको यो समस्या बिस्तारै अन्य विद्यार्थीमा पनि फैलिएपछि विद्यालय बन्द गरिएको हो ।

Advertisement

‘बिरामी विद्यार्थीले अर्को साथीलाई आँखा तरेर हेर्ने बित्तिकै अर्कोमा पनि त्यस्तै लक्षण देखिन थाल्छ,’ पौडेलले भने । विद्यालय परिसरमा क्यान्टिन बनाउनका रुख काटेपछि यो समस्या देखिएको दाबी गरिएको छ ।

विद्यालयमा क्यान्टिन बनाउनका लागि नजिकै रहेको दुधिलो र अर्को पात्लेको रूख रहेकोमा उक्त रुख काटेदेखि ‘एक जना विद्यार्थी मन्दिरको थान किन बिगारिस्, दूध आउने रुख किन काटिस् जस्ता वाक्य बोलेर बरबराउन र लड्न गर्न थाले, हामीले गर्मीको समस्या हो की भनेर शान्त कोठामा लग्यौँ । तर, समस्या समाधान भएन, बरु अर्को विद्यार्थी समेत यसरी नै बरबराउने र लड्ने गर्न थाले’ पौडेलले भने ।

स्थानीयले यसलाई धार्मिक आस्थासँग समेत जोडेका छन् । समस्या समाधानका लागि स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्नुका साथै धार्मिक विश्वास अनुसार पूजापाठ र बलि समेत दिइएको बताइएको छ ।

तर, समस्या नघटेपछि थप जोखिम हुन नदिन गाउँपालिकाको शिक्षा शाखासँगको समन्वयमा विद्यालय बन्द गरिएको हो। यस्ता लक्षण मास हिस्टेरिया हुन सक्ने अनुमान गरिए पनि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.