विद्युत् ट्रिपिङले उद्योग धराशायी: अध्यक्ष राठी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार २०:४०
विद्युत् ट्रिपिङले उद्योग धराशायी: उद्योग संगठन मोरङद्वारा सरकारको ध्यानाकर्षण

विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोर र विराटनगर महानगर क्षेत्रमा केही दिनयता भइरहेको अनियन्त्रित विद्युत् ट्रिपिङका कारण उद्योग व्यवसाय संकटमा परेको भन्दै उद्योग संगठन मोरङले नेपाल विद्युत् प्राधिकरणको गम्भीर ध्यानाकर्षण गराएको छ ।

संगठनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र कोशी प्रदेश प्रादेशिक कार्यालयका निर्देशकलाई छुट्टाछुट्टै पत्राचार गर्दै समस्याको तत्काल समाधान गर्न माग गरेको हो ।

Advertisement

संगठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार औद्योगिक क्षेत्रमा दैनिक १० देखि १२ पटकसम्म विद्युत् ट्रिपिङ हुने गरेको छ । ‘बारम्बारको विद्युत् अवरोधले उद्योगका महँगा मेसिनरीमा क्षति पुग्ने, उत्पादन प्रक्रियामा रहेका कच्चा पदार्थ नष्ट हुने र श्रमिकहरू निष्क्रिय बस्नुपर्ने अवस्था छ,’ अध्यक्ष राठीले भने, ‘यसले उद्योगहरूलाई ठुलो आर्थिक नोक्सानी पुर्‍याएको छ ।’

इन्धनको मूल्य बढिरहेको समयमा जेनरेटर चलाएर उद्योग सञ्चालन गर्दा उत्पादन लागत निकै बढ्न गई स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता समेत घटेको संगठनको ठहर छ ।

विद्युतको अस्थिरताले उद्योग मात्र नभई आम नागरिक, विद्यार्थी र कार्यालयको कामकाज समेत प्रभावित भएको छ । भोल्टेजको घटबढका कारण घरायसी विद्युतीय उपकरणहरू बिग्रने समस्या बढेको छ ।

उद्योग संगठन मोरङले आपूर्ति प्रणालीलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन प्राविधिक तथा व्यवस्थापकीय सुधार गरी दीर्घकालीन समाधान खोज्न प्राधिकरणलाई आग्रह गरेको छ । समस्याको गम्भीरतालाई बुझी शीघ्र कदम नचालिए उद्योगहरू थप धराशायी हुने चेतावनीसमेत दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.