म्यानपावर सञ्चालक उद्धव पाठकको धन्दा : रोमानियाको सपना बेचेर ठगीको साम्राज्य

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ जेष्ठ २२, शुक्रबार १०:४८
पीडितमध्येका पवन कार्की ।

विराटनगर । झापा र मोरङका गाउँबस्तीबाट विदेश जाने सपना बोकेका सयौं युवाहरू अहिले गम्भीर आर्थिक संकट, मानसिक तनाव र असुरक्षाको चपेटामा परेका छन् ।

रोमानिया पठाउने प्रलोभन देखाएर लाखौं रुपैयाँ असुली गर्ने म्यानपावर सञ्चालक पक्राउ परेपछि वैदेशिक रोजगारीका नाममा फैलिएको संगठित ठगीको भयावह स्वरूप सार्वजनिक भएको छ । झापाको कमल गाउँपालिका–१ का पवन कार्की केही समयदेखि विदेश जाने तयारीमा थिए । रोमानिया जानका लागि उनले म्यानपावर सञ्चालकलाई साढे ७ लाख रुपैयाँभन्दा बढी रकम बुझाइसकेका थिए ।

Advertisement

भिसा र टिकट सबै तयार भएको आश्वासन पाएपछि उनी नेपालमा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसमेत छाडेर भारतको नयाँ दिल्ली पुगे । तर, त्यहाँ पुग्दा आफ्नो हातमा परेको हवाई टिकट नक्कली भएको खुलेपछि उनको सपना एकाएक भत्कियो ।

विमानस्थलबाट फर्काइएपछि एजेन्टले पुनः काठमाडौंबाट उडाउने भन्दै आश्वासन दिएका थिए । तर, त्यही आश्वासनमै समय बित्दै गयो । अन्ततः पवनसँगै रहेका मोरङका जीवन लिम्बू र झापाका उमेश खत्री पनि काठमाडौं फर्किए । झण्डै २२ दिनको अनिश्चितता र मानसिक तनावपछि घर फर्किन बाध्य भए ।

पवन अहिले मोरङको इलाका प्रहरी कार्यालय सिजुवा पुगेर आफ्नो पीडा सुनाइरहेका छन् । घरमा गरगहना धितो राखेर, ऋण काढेर विदेश पठाउन जुटाइएको पैसा यसरी ठगिएपछि परिवार नै संकटमा परेको उनी बताउँछन् । ‘घरबाट बिदा भएको महिना दिन पनि नबित्दै फर्किनु पर्‍यो,’ उनले भने, ‘लगेज घरमै जस्ताको तस्तै छ । सबै सपना चकनाचुर भयो ।’

यस्तै, पीडा मोरङ उर्लाबारी–३ का आशिष कार्कीको पनि छ । उनले चार वर्षअघि नै रोमानिया जान भन्दै म्यानपावर सञ्चालकलाई दुई लाख रुपैयाँ बुझाएका थिए । तर, न विदेश जान पाए, न त पैसा नै फिर्ता पाए । चार वर्षदेखि उनी विभिन्न सरकारी निकाय धाउँदै आफ्नो पैसा फिर्ताको माग गरिरहेका छन् । तर, कुनै समाधान भएको छैन ।

यो ठगी प्रकरण व्यक्तिगत घटना मात्र नभएर एउटा संगठित संरचनाको हिस्सा भएको खुलेको छ । मोरङको रतुवामाई नगरपालिका–८ का ३७ वर्षीय उद्धव पाठकले सञ्चालन गरेको म्यानपावरमार्फत रोमानिया पठाउने नाममा सयौं व्यक्तिबाट करोडौं रुपैयाँ असुली गरिएको तथ्य बाहिर आएको छ ।

पाठकको रतुवामाई–८ दाम्राभिट्टामा ‘के एस ए’ नामक म्यानपावर छ । प्रहरीका अनुसार पाठक र उनको म्यानपावरका लेखापाल अभि भण्डारी पक्राउ परेपछि इलाका प्रहरी कार्यालय सिजुवामा पीडितहरूको भिड बढेको छ । ‘हालसम्म १५० भन्दा बढी व्यक्तिले औपचारिक उजुरी दिएका छन्,’ मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले भने, ‘ठगी गरिएको रकम ३ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।’

प्रहरी कार्यालयमा परेको किटानी जाहेरीका आधारमा ठगी भएको रकम ३ करोड ५० लाख बढी पुगेको हो । ‘अझै पनि जाहेरी दिन पीडितहरु आउने क्रम जारी छ । पीडितको संख्या र पाठकले सर्वसाधारणसँग ठगी गरेको रकम बढ्न सक्छ,’ मिश्रले भने । उनले वास्तविक ठगी रकम अझै बढी हुन सक्ने बताए । अर्कोतर्फ धेरै पीडितसँग बैंक ट्रान्सफरको प्रमाण छैन । कतिपयले नगदमै कारोबार गरेका छन् ।

पाठक र उनका लेखापाल भण्डारीलाई नगद नै दिएकाहरु प्रमाण जुटाउन नसकेको तनावमा परिरहेका छन् । पीडितमध्ये अधिकांश निम्न र मध्यम वर्गीय परिवारका युवा छन् । उनीहरुले विदेश जाने आशामा मिटरब्याजमा ऋण लिएर, जग्गा धितो राखेर वा परिवारका गरगहना बेचेर रकम जुटाएका थिए । अहिले उनीहरू न विदेश जान सकेका छन्, न त ऋण तिर्ने अवस्थामा नै ।

यस घटनाको अर्को पीडादायी पक्ष रतुवामाई–८ का दिलिप खड्काको परिवारसँग जोडिएको छ । दिलिप पाठककै माध्यमबाट रोमानिया पुगे । दिलिपले गाउँका अन्य युवाहरूलाई पनि पाठकसँग जोडिदिएका थिए । उनी साक्षी बसेर नै पैसा संकलन प्रक्रिया अघि बढेको थियो । तर, पछि ती युवाहरू विदेश नपठाइएपछि गाउँमै ठूलो विवाद भयो ।

गाउँको दबाबपछि दिलिपले आफ्नै कमाइ र सम्पत्ति बेचेर ३३ लाख रुपैयाँभन्दा बढी रकम साथीहरूलाई फिर्ता गर्नुपरेको थियो । यसले उनको परिवार आर्थिक रूपमा पूर्ण रूपमा कमजोर बनेको छ । आमा विष्णुमाया खड्काले भनिन्, ‘छोराले विश्वास गरेर साक्षी बसेको थियो । तर, पछि सबै ठगिएपछि घरको सम्पत्ति बेच्नुपर्‍यो ।’

प्रहरी अनुसन्धान अनुसार पाठकले रोमानियामा समेत आफ्नो सञ्जाल विस्तार गरेका थिए । त्यहाँ उनले ‘नेपाली होस्टल’ सञ्चालन गरेर नेपाली कामदारहरूलाई राख्ने र अतिरिक्त शुल्क असुल्ने गरेको आरोप छ । केही पीडितका अनुसार रोमानियामा उनले विलासी जीवन बिताउने गरेका थिए । दैनिक क्यासिनो जाने, मदिरामा ठूलो रकम खर्च गर्ने र ठगीको पैसा व्यक्तिगत सुख–सुविधामा प्रयोग गर्ने गरेको आरोप उनीमाथि लागेको छ ।

त्यहाँ काम गर्न गएका युवाहरूले भने अपेक्षित काम, तलब र सुरक्षाको अभाव भएपछि विरोध समेत गरेका थिए । असुरक्षा बढेपछि उद्धव केही समयअघि नेपाल फर्किएको बताइन्छ । उनकी श्रीमती लेखामाया पाण्डे भने अझै रोमानियामै रहेको प्रहरी स्रोतले बतायो ।

नेपाल फर्किएपछि उद्धव लुकीछिपी बस्दै आएका थिए । केही समय काठमाडौंमा बसेर एक साताअघि मात्रै गाउँ फर्किएका थिए । पीडितहरूले नै उनलाई फेला पारेर प्रहरीलाई बुझाएपछि हाल पाठक र उनको म्यानपावरका लेखापाल हिरासतमा छन् । ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । पाठकविरुद्ध मोरङ र काठमाडौंमा उजुरी परेको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका पाठकले सम्पत्ति बेचेर रकम फिर्ता गर्ने आश्वासन दिएका छन् । तर, पीडितहरू भने उनीमाथि विश्वास गर्न नसक्ने अवस्थामा छन् । ‘पहिले पनि आश्वासन दिएर ठगी गरिएको हो । अहिले पनि त्यही दोहोरिन सक्छ,’ पीतिडहरु भन्छन् । म्यानपावर सञ्चालन गर्दै पाठकले रोमानियाको सपना बेचेर ठगीको साम्राज्य चलाएको उनीहरुको भनाइ छ ।

यस घटनाले वैदेशिक रोजगारीको नाममा देशभर फैलिएको म्यानपावरको सञ्जाल कति गहिरो र संगठित छ भन्ने प्रस्ट पारेको छ । विशेषगरी गाउँगाउँमा फैलिएको विदेश मोह र आर्थिक अभावको फाइदा उठाउँदै केही व्यक्तिहरूले ठूलो मात्रामा ठगी गर्दै आएको देखिन्छ ।

अहिले पवन र आशिष कार्की जस्ता सयौं युवाहरूलाई विदेशको सपनामा बोक्नु परेको ऋणको बोझले थिचिरहेको छ । उनीहरलाई अब ऋण पासोबाट कसरी मुक्त हुने भन्ने तनावले सताएको छ । कतिपयले त ऋणसँग जुध्ने आर्थिक क्षमता नभएको गुनासो गरिरहेका छन् ।

प्रहरीले यस प्रकरणमा संलग्न थप व्यक्तिहरूको खोजी जारी राखिएको जनाएको छ । पीडितहरू भने आफ्नो पैसा फिर्ता हुने आशा क्रमशः कमजोर हुँदै गएको बताइरहेका छन् ।

मोरङमा म्यानपावर सञ्चालक पक्राउ, रोमानिया पठाइदिने भन्दै लाखौं रूपैयाँ ठगी

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.