
विराटनगर । २०७९ साल असोज ३ गते । संविधान दिवसको उल्लासमय वातावरण थियो । रानीदेखि बरगाछीसम्म फैलिएको विराटनगरको आधुनिक ६ लेन सडक खण्ड उत्सवमय देखिन्थ्यो ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले हातमा बिरुवा समातेर रोप्दै गर्दा वरपर उपस्थित भिडले ताली बजाएको थियो । वन कार्यालय र मन्त्रालयको सहयोगमा धुमधामका साथ करिब २,३०० बिरुवा रोपिएका थिए । धुलो र धुवाँले घेरिएको औद्योगिक नगरी विराटनगरलाई हरियाली र पर्यावरणमैत्री ‘ग्रीन सिटी’ बनाउने उद्देश्य थियो ।
सडकको बीच भागमा रहेका डिभाइडरहरूमा रोपिएका बिरुवाहरूले महानगरको अनुहार फेर्ने सपना बोकेका थिए । तर, समय बित्दै गयो । उत्सव सकियो, भिड तितरवितर भयो र बिरुवासँगै जोडिएका सरकारी प्रतिबद्धताहरू पनि बिस्तारै ओझेल पर्दै गए ।
आज तिनै बिरुवाहरू हुर्किएका छन् । तर, आफ्नो प्राकृतिक सुन्दरतासहित होइन । सडकलाई आकर्षक देखाउन रोपिएका बिरुवाहरू अहिले उचित हेरचाह, नियमित गोडमेल र संरक्षणको अभावमा झारपातको चंगुलमा परेका छन् । रानीदेखि बरगाछीसम्मको यात्रा गर्दा सडकको डिभाइडरमा सुन्दर फूल र बिरुवा होइन, बाक्लो र कुरुप झाडी देख्न सकिन्छ ।

कतिपय ठाउँमा त झारपात यति अग्लो भइसकेको छ कि त्यसले रैथाने बिरुवालाई नै पूरै छोपिदिएको छ । सडकको बीच भागमा अव्यवस्थित र झाडीमा परिणत हुँदा महानगरको सौन्दर्यीकरणको नारालाई गिज्याइरहेको भान हुन्छ । हुन त महानगरले सडक सौन्दर्यीकरण भन्दै सहयोगका नाममा विभिन्न बैंकदेखि संघ संस्थासँग पैसा उठाएको थियो ।
त्यसपछि बेनीगोपाल मुन्दडाको संयोजकत्वमा उपभोक्ता समिति नै बनाएर काम अघि बढाइयो । अहिले सडकमा रोपिएका बिरुवाको अवस्था हेर्दा, विभिन्न बैंक र संघ संस्थाले सहयोग गरेको पैसा दुरुपयोग भएको आशंकालाई बल पुगिरहेको छ । हुन त महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निकाला कार्कीलगायतका जनप्रतिनिधिको कार्यशैली बारम्बार विवादित बनिरहेको छ । उनीहरुको काम कारबाहीमा बारम्बार प्रश्न उठिरहेको छ ।
पछिल्लो समय सडक सौन्दर्यीकरणका नाममा सहयोग भन्दै उठाएको पैसाको हिसाबकिताब पारदर्शी नभएको चर्चा चलिरहेको छ । ‘त्यो पैसा कर्मचारीदेखि जनप्रतिनिधिसम्मले दुरुपयोग गरेका छन् । हैन भने अहिले सडकको अवस्था हेर्दा नै त्यो कुरा प्रष्ट हुन्छ,’ स्रोतले भन्यो । महानगरले सरसफाइ व्यवस्थापन शाखाका प्रमुख कर्मचारी पुनम दाहाललाई ‘फोकल पर्सन’ तोकेर सडक सौन्दर्यीकरणको काम अघि बढाएको थियो । तर, जनप्रतिनिधि र कर्मचारी व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा विराटनगरभित्र सडकको अवस्था खराब बनिरहेको छ ।
सरसफाइ व्यवस्थापन शाखा प्रमुख दाहालले सडक सौन्दर्यीकरणका लागि बैंकहरुबाट ३४ लाख रूपैयाँभन्दा बढी सहयोग लिइएको बताए । ‘सबैले सहयोग गर्नु भयो । उपभोक्ता समिति बनाएर काम पनि अघि बढाइयो । तर, जेनजी आन्दोलनका समयमा घेराबारा सबै तोडफोड गरियो । यसले सौन्दर्यीकरणमा धक्का पुगेको छ,’ उनले भने । अहिले आफूले सरसफाइ व्यवस्थापन शाखा मात्रै हेर्ने र सौन्दर्यीकरणको काम वातावरण शाखाले हेर्न थालेको जानकारी दाहालले दिए ।
यस विषयमा बुझ्न खोज्दा मेयर नागेश कोइरालाले फोन उठाएनन् । उपमेयर शिल्पा निराला कार्कीले आफू मिटिङमा रहेको भन्दै बोल्न चाहिनन् ।
सडक विस्तार भएपछि सहर सुन्दर देखिएला भन्ने आशा थियो । स्थानीय ७६ वर्षीय हरिराम ढकालले खिन्न हुँदै भने, ‘बिरुवा त रोपे, तर त्यसलाई हुर्काउने र सफा राख्ने जिम्मेवारी कसैले लिएन । लाखौं खर्चेर रोपेका बिरुवा अहिले झारभित्र हराइरहेका छन् । सडक सौन्दर्यीकरणका नाममा महानगरले सहयोग लिइरहेको कुरा पनि सुनिएको थियो । कहाँ लगेर त्यो पैसा खर्च गरे होलान् ?’
नागरिक अगुवाहरु भन्छन्, ‘वृक्षारोपण गर्नु मात्र ठूलो कुरा होइन । त्यसलाई संरक्षण गर्नु र दिगो बनाउनु वास्तविक चुनौती हो भन्ने कुरा यस सडक खण्डले पुष्टि गर्छ । बजेट सिध्याउन र चर्चा कमाउनका लागि मात्र गरिने यस्ता मौसमी वृक्षारोपणले सहरको स्वरुप त सुधार्दैन नै, उल्टै अव्यवस्थित देखाउँछ ।’ यो अव्यवस्था र स्थानीयको बढ्दो चासोका बीच विराटनगर महानगरपालिकाको वातावरण शाखाले काम गरिरहेको दाबी गरेको छ ।
महानगरपालिकाको वातावरण शाखा प्रमुख राकेश ठाकुरका अनुसार डिभाइडर राखिएका क्षेत्रमा यसअघि एक चरण सरसफाइको काम भइसकेको छ । तर, वर्षायाम र अनुकूल मौसमका कारण पुनः तीव्र रूपमा झार पलाएकाले समस्या देखिएको उनको दाबी छ । शाखा प्रमुख ठाकुरले भने, ‘हामीले एकपटक सफा गरिसकेका हौं, तर फेरि झार पलायो । अब यो असार मसान्तभित्रै यो क्षेत्रको सम्पूर्ण झारपात सफा गरिसक्ने गरी काम अघि बढाएका छौं ।’

उनका अनुसार महानगरपालिका यतिमै रोकिने छैन । आगामी नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै डिभाइडर क्षेत्रलाई पूर्ण रूपमा सफा बनाउने योजना छ । सडकलाई थप हरियाली र आकर्षक बनाउनका लागि मरेका बिरुवाका ठाउँमा थप ८०० वटा नयाँ बिरुवा रोप्ने तयारी रहेको जानकारी ठाकुरले दिए ।
सडक सौन्दर्यीकरणको उद्देश्य तब मात्र सार्थक हुन्छ, जब रोपिएका बिरुवाको गोडमेल र स्याहारमा नियमितता हुन्छ । महानगरपालिकाको वातावरण शाखाले असार मसान्तभित्र सरसफाइ सक्ने र आगामी आर्थिक वर्षअघि ८०० बिरुवा थप गर्ने जुन योजना ल्याएको ठाकुरले बताए ।
पर्यावरण जोगाउने र सहरलाई सुन्दर राख्ने अभियानमा राज्यका निकायहरू सुरुमा जति आक्रामक देखिए पनि त्यसलाई निरन्तरता दिन सक्दैनन् । सम्बन्धित निकाय व्यवस्थापनमा पनि त्यत्तिकै गम्भीर हुनुपर्ने सरोकारवाला बताउँछन् । नत्र समृद्धिको ६ लेन सडक उपेक्षाको झाडीभित्रै रुमल्लिरहने उनीहरुको भनाइ छ ।

























