विराटनगरमा सीटी सफारी : सुलभ यात्रासँगै उच्च जोखिम

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:११

विराटनगर । पूर्वी नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र विराटनगरमा पछिल्ला वर्षहरूमा ‘सीटी सफारी’ (ई–रिक्सा)जस्ता तीनपांग्रे सवारीसाधन सर्वसाधारणका लागि सबैभन्दा सहज र लोकप्रिय यातायातको माध्यम बनेका छन् ।

गल्ली–गल्ली पुग्ने र सस्तो भाडामा यात्रा गराउने भएकाले सीटी सफारीले स्थानीयको दैनिकीलाई निकै सजिलो बनाएको छ । तर, यही सहज सवारीसाधन अचेल विराटनगरका सडकहरूमा डरको पर्यायसमेत बन्न थालेको छ । पछिल्लो समय सफारीसँग जोडिएर भएका शृङ्खलाबद्ध सडक दुर्घटनाहरूले सडक सुरक्षामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

Advertisement

हालै विराटनगर महानगरपालिका–१० को भित्री सडकमा एउटा सफारी आँफै अनियन्त्रित भई पल्टिँदा चालकले ज्यान गुमाए भने विराटनगर–६ मा भएको अर्को सफारी दुर्घटनामा गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भयो । यी प्रतिनिधि घटना मात्र हुन्, जसले विराटनगरका सडकमा गुड्ने सफारीको सुरक्षा अवस्थालाई उदांगो पारेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय तथ्यांक हेर्ने हो भने देशको सडक सुरक्षा अवस्था निकै भयावह देखिन्छ । मोरङ जिल्लाको अवस्था पनि उस्तै चिन्ताजनक छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो १० महिनाको तथ्यांक अनुसार मोरङमा मात्रै ४२२ वटा सवारी दुर्घटना हुँदा ९५ जनाको मृत्यु भयो भने ६ सयभन्दा बढी मानिस घाइते भएका छन् । चालु आर्थिक वर्ष २०८२–०८३ को पूर्ण तथ्यांक आउन बाँकी भए पनि सडकमा गुड्ने ट्यांकर, म्याजिक भ्यान, मोटरसाइकल, सीटी सफार रका कारण हुने दुर्घटनाको ग्राफ घट्न सकेको छैन ।

विराटनगरका व्यस्त बजार क्षेत्र र साँघुरा भित्री सडकहरूमा सफारीको संख्या अत्यधिक छ । तर, दुर्घटना बढ्नुमा सडकको चौडाइ मात्र नभएर मानवीय लापरबाही मुख्य कारण रहेको ट्राफिक प्रहरीको भनाइ छ । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा दुर्घटना न्यूनीकरणका लागि चालकहरू आफैं बढी जिम्मेवार र सचेत हुन जरुरी छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, लेन अनुशासन पालना नगर्ने र सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना नै सवारीसाधन चलाउनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरिएको उनले बताए । तर, चालकहरूमा चेतना नआएसम्म कारबाही मात्रै पर्याप्त नहुने निष्कर्ष ट्राफिक प्रहरीको छ । त्यही भएर ट्राफिक प्रहरीले सवारी चालक लक्षित विभिन्न सचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ ।

थोरै समयमा धेरै यात्रु ओसारेर बढी कमाउने होडबाजीका कारण चालकहरू जोखिमपूर्ण ढंगले सफारी कुदाउने गरेको इन्स्पेक्टर न्यौपानेले बताए । उनका अनुसार धेरैजसो सफारी चालकहरूमा लेन अनुशासन, ट्राफिक संकेतको ज्ञान र सडक चेतनाको ठूलो अभाव देखिन्छ । सिट क्षमताभन्दा बढी यात्रु कोचेर चलाउनाले सवारीसाधन अनियन्त्रित हुने गरेको छ ।

साथै, पैदलयात्री र चालक दुवैमा सडक अनुशासनको कमीदेखि लापरबाहीपूर्ण तरिकाले जथाभावी बाटो काट्ने वा मोड्ने प्रवृत्ति बढेको छ । स्थानीयका अनुसार सीटी सफारीहरु छोटो दूरीमा धेरै यात्रु भेट्टाउन जतिबेला पनि जहाँ पनि मोडिदिने र इन्डिकेटर समेत नबाली गुड्ने गरेकाले जोखिम झन् बढेको हो ।

सडकको भद्रगोल अवस्थालाई नजिकबाट भोगिरहेका विराटनगर–३ का रमेश श्रेष्ठ भन्छन्, ‘सिटी सफारीहरू छोटो दूरीमा धेरै यात्रु भेटाउन जतिबेला पनि जहाँ पनि मोडिदिन्छन् । न तिनले लुकिङ ग्लास हेर्छन्, न त साइड लाइट (इन्डिकेटर) नै बाल्छन् । पछाडिबाट आउने अन्य सवारीसाधनलाई यसले निकै जोखिममा पारेको छ ।’

बढ्दो दुर्घटनालाई ध्यानमा राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सफारी चालकहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । चालकहरूलाई लाइसेन्सको अनिवार्यता, सुरक्षित यात्रु व्यवस्थापन र लेन अनुशासनबारे प्रशिक्षण दिने काम भइरहेको इन्स्पेक्टर न्यौपानेले बताए ।

प्रहरीले समग्र सडक सुरक्षा सुधारका लागि डिजिटल प्रविधि, सीटी क्यामेरा निगरानी, ट्राफिक लाइटको विस्तार तथा मादक पदार्थ सेवन (मापसे) चेकिङलाई थप कडा र प्रभावकारी बनाउने योजनाका साथ काम गरिरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । ‘सीटी सफारी विराटनगरको सार्वजनिक यातायातको परिपूरक बनिसकेको छ, यसलाई पूर्ण रूपमा विस्थापित गर्न सम्भव छैन र आवश्यक पनि छैन,’ विराटनगरका स्थानीय नवीन चौधरीले भने, ‘तर, सर्वसाधारणको जीवनलाई दाउमा राखेर गरिने यातायात व्यवसाय स्वीकार्य हुन सक्दैन । सडक सुरक्षालाई बलियो बनाउन ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने हुँदा सबै पक्षको साथ र सहयोग चाहिन्छ ।’

उनले अब सफारी चालकहरू स्वयम् जिम्मेवार बन्नुपर्ने, यात्रुहरूले पनि क्षमताभन्दा बढी चढाउन खोज्दा रोक्नुपर्ने र सम्बन्धित निकायले सफारीको संख्या तथा रुट निर्धारणमा कडा मापदण्ड लागू गर्नुपर्ने बताए । ‘जबसम्म नियमको प्रभावकारी कार्यान्वयन र मानवीय चेतनामा सुधार आउँदैन, तबसम्म विराटनगरका सडकहरू सुरक्षित बन्न सक्ने छैनन्,’ चौधरीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.