नेपाल वायुसेवा निगम सञ्चालक समितिकाे नियुक्ति बदर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १९:४१

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम सञ्चालक समितिका ५ सदस्यको नियुक्ति बदर गरेको छ । सरकारले गत वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेको थियो । छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नगरी छानी–छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार उक्त नियुक्ति बदर गर्ने आदेश दिएको हो ।

Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डा. दीपक प्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय मन्त्रीस्तरबाट गरेको थियो।

‘२०८३ वैशाख ३१ को योग्यता क्रममा निवेदक उपेन्द्रबहादुर कार्कीको नाम १ नम्बर योग्यताक्रममा रहेको गोप्य सिलबन्दी मूल्यांकन फारमबाट निजले सबैभन्दा बढी ३६.६२५ अंक प्राप्त गरेको देखिएकोमा माननीय मन्त्रीबाट नियुक्तिको निर्णय गर्दा योग्यता क्रमका २, ३, ४ र ६ तथा महिला उम्मेदवारमध्ये क्रम संख्या २ लाई नियुक्त गर्ने निर्णय गरेको भए पनि योग्यता क्रमको पहिलो नम्बरमा रहेका यी निवेदक उपेन्द्रबहादुर कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्न नसकिने, नगर्नुपर्ने कुनै आधार र कारण खुलाएको पनि देखिएन’, आदेशमा भनिएको छ,‘अब छनौट समितिको सिफारिसमा परेको योग्यताक्रमअनुसारका उम्मेदवारहरुलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्नु भनी विपक्षीहरुको नाममा यो परमादेश समेत जारी गरिएको छ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.