धितोपत्र कसुरमा निर्माण व्यवसायी मुछिए, अध्यक्ष निकोलस प्रतिवादी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २९, शुक्रबार १७:५४

काठमाडौं । व्यवसायी दीपक भट्ट जोडिएको धितोपत्र सम्बन्धी कसुरमा निर्माण व्यवसायी पनि मुछिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई पनि प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध मुद्दा दायर गरेको छ। अभियोगपत्रमा निकोलसलाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको छ । तर, निकोलस सार्वजनिक कार्यक्रमहरुमा देखा परिरहेका छन् ।

Advertisement

चितवनको भरतपुर महानगरपालिका–१० निवासी ४८ वर्षीय निकोलस पूर्वमन्त्री विक्रम पाण्डेका छोरा हुन् । उनी दीपक भट्टले स्थापना गरेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक रहेको खुलेको छ ।

बिहीबार अदालतमा दायर गरिएको धितोपत्र सम्बन्धी कसुरको मुद्दामा कुल ८१ जना प्रतिवादी छन् । प्रहरी अनुसन्धानअनुसार निकोलस सञ्चालक रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल रिइन्स्योरेन्स लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाउने तथा प्रभावित पार्ने काम गरेको निष्कर्ष निकालिएको छ ।

सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुर गरेको ठहर गर्दै लिबर्टीका सञ्चालकहरूले अन्य व्यक्ति तथा संस्थासँग मिलेर लगानीकर्ता र समग्र धितोपत्र बजारलाई झुक्याउने तथा योजनाबद्ध रूपमा कारोबार सञ्चालन गरेको उल्लेख गरेको छ । अनुसन्धान प्रतिवेदनमा निकोलस पाण्डेसहितका व्यक्तिले झुटा कारोबारमार्फत लिबर्टीलाई ९९ लाख रुपैयाँ हानी पुर्‍याएको निष्कर्ष निकालिएको छ ।

सोही आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध ९९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । निकोलसका बुवा विक्रम पाण्डे पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । बोलपत्र प्रणाली ह्याक गरी ठेक्का कब्जा गरेको आरोपमा यसअघि सीआईबीले विक्रमलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.