
अमेरिका । घरेलु मैदानमा जारी फिफा विश्वकप–२०२६ को यात्राको सुरुवातमा अमेरिकाले शानदार जित निकालेको छ ।
समूह ‘डी’ अन्तर्गत लस एन्जलस स्टेडियममा शनिबार बिहान सम्पन्न खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई ४–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको अमेरिकाले सातौँ मिनेटमै अग्रता लिएको थियो ।
वेस्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा पाराग्वेका डेमियन बोबाडिल्लाबाट आत्मघाती गोल भएपछि घरेलु टोलीले १–० को अग्रता बनाएको हो । अमेरिकाको दबाब त्यसपछि पनि निरन्तर रह्यो । ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई ३–० को सहज स्थितिमा पुर्याए ।
दोस्रो हाफमा पाराग्वेले खेलमा फर्किने प्रयास गर्यो । ७३औँ मिनेटमा मौरिसियोले गोल गर्दै अन्तर घटाए पनि जितका लागि पर्याप्त हुन सकेन । खेलको अन्तिम अतिरिक्त समयमा जियोभानी रेयनाले आकर्षक गोल थपेपछि अमेरिकाले ४–१ को प्रभावशाली जित सुनिश्चित गर्यो ।
बालोगुनको दुई गोल, रेयनाको निर्णायक प्रहार र पाराग्वेको आत्मघाती गोलको मद्दतले अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ । यस समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन् । अमेरिकाले अब आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाको सामना गर्नेछ भने पाराग्वे टर्कीसँग भिड्नेछ ।



















