
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लामो समयदेखिको तनाव अन्त्यतर्फ उन्मुख भएको दाबी गरेका छन् । उनले इरानले भविष्यमा आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै अमेरिका प्रस्तावित सैन्य कारबाहीबाट पछि हटेको बताएका छन् ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानी नेतृत्वले सम्झौताका मुख्य सर्तहरू स्वीकार गरेको बताए । उनका अनुसार इरानले कहिल्यै पनि आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनु नै वार्ताको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो ।
ट्रम्पले दुई पक्षबीचको छलफल अन्तिम चरणमा पुगेको दाबी गर्दै इरानमाथि गर्न लागिएको क्षेप्यास्त्र आक्रमण तथा अन्य सैन्य कारबाही रोकिएको जानकारी दिए । वार्तामा महत्वपूर्ण प्रगति भएपछि सैन्य विकल्पलाई तत्कालका लागि स्थगित गरिएको उनको भनाइ छ ।
उनले मध्यपूर्वका केही प्रमुख राष्ट्रहरूले समेत उक्त समझदारीलाई सकारात्मक रूपमा लिएको दाबी गरे । आगामी दिनमा औपचारिक हस्ताक्षरको प्रक्रिया अगाडि बढ्न सक्ने संकेत गर्दै ट्रम्पले यसले क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय व्यापारलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यद्यपि, इरानले भने अमेरिकी दाबीप्रति सावधानीपूर्ण प्रतिक्रिया दिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले विभिन्न विषयमा प्रगति भएको स्वीकार गरे पनि अन्तिम निर्णय भने भइनसकेको बताएका छन् । उनका अनुसार केही महत्वपूर्ण विषयमा अझै छलफल जारी छ ।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानको आणविक गतिविधिमाथि निरन्तर निगरानी आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । भविष्यमा हुने कुनै पनि सहमतिले क्षेत्रीय सुरक्षालाई सुनिश्चित गर्नुपर्नेमा इजरायलले जोड दिएको छ ।
ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा पनि प्रभाव देखिएको छ । सम्भावित युद्धको जोखिम कम हुने अपेक्षासँगै कच्चा तेलको मूल्य घटेको छ भने विश्वका प्रमुख सेयर बजारमा सकारात्मक उत्साह देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

























