
काठमाडौं । ‘स्पेस एक्स’काे आइपिओ सेयर बजारमा सूचीकृत (लिस्टिङ) हुँदा कम्पनीका संस्थापक एलन मस्क विश्वको पहिलो ट्रिलिनियर बनेका छन् । यसलाई विश्वकै सबैभन्दा ठूलो आईपीओका रुपमा हेरिएकाे थियोे ।
टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको कुल सम्पत्ति अहिले १.११ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यससँगै उनले विश्वकै सबैभन्दा धनी व्यक्तिको स्थान अझ मजबुत बनाएका छन्। स्पेसएक्सले नास्डाक शेयर बजारमा २.२ ट्रिलियन डलर मूल्याङ्कनसहित सूचीकृत हुँदै इतिहासकै सबैभन्दा ठूलो आईपीओका रुपमा बजारमा आएको छ।
कम्पनीले प्रति शेयर १३५ डलर मूल्य तोकेको भए पनि कारोबार सुरु हुँदा मूल्य १५० डलर पुगेको थियो र केही समयका लागि १७६.५० डलरसम्म उक्लिएको थियो। अन्ततः शुक्रबार कारोबार बन्द हुँदा शेयर मूल्य करिब १६१ डलरमा कायम रह्यो। यस आईपीओबाट कम्पनीले ७५ अर्ब डलर पूँजी संकलन गरेको छ। स्पेसएक्समा मस्कको ४२ प्रतिशत स्वामित्व रहेको छ, जसले कम्पनीका प्रमुख निर्णयहरूमा उनलाई लगभग पूर्ण नियन्त्रण प्रदान गर्दछ।
ब्लूमबर्गको विवरणअनुसार मस्कको स्पेसएक्समा रहेको हिस्साको मूल्य मात्र ७६७ अर्ब डलरभन्दा बढी पुगेको छ। यसबाहेक टेस्लामा रहेको उनको शेयर र अन्य लगानिको मूल्य सयौं अर्ब डलर रहेको छ। यो सँगै मस्कको सम्पत्ति अहिले पोल्यान्ड वा स्विट्जरल्याण्डजस्ता देशहरूको वार्षिक आर्थिक उत्पादन (जीडीपी) सरह पुगेको छ। यसले विश्वव्यापी रूपमा सम्पत्ति असमानता सम्बन्धी बहसलाई पुनः चर्काएको छ।
अमेरिकी सिनेटरहरू बर्नाइ स्यान्डर्स र एलिजावेथ वार्नले यस्तो अत्यधिक सम्पत्तिलाई चिन्ताको विषय भन्दै धनीमाथि थप कर लगाउनुपर्ने तर्क गरेका छन्। यद्यपि मस्कको अधिकांश सम्पत्ति शेयरको मूल्यमा आधारित भएकाले यो ‘कागजी सम्पत्ति’ (पेपर वेल्थ) का रुपमा रहेको छ। उनले कम्तीमा एक वर्षसम्म आफ्ना स्पेसएक्सका शेयर बेच्न पाउने छैनन्।

























