
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध ठूलो सैन्य आक्रमण गर्ने आफ्नो पूर्वघोषणाबाट पछि हटेका छन् । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुलाई लक्षित गर्दै हवाई आक्रमण र बमबारी गर्ने चेतावनी दिएका ट्रम्पले केही घण्टामै उक्त योजना स्थगित गरिएको बताएका हुन् ।
सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानसँग जारी अमेरिकी वार्ता महत्वपूर्ण चरणमा पुगेकाले तत्कालका लागि हवाई आक्रमण र बमबारी रद्द गरिएको जानकारी दिएका छन् । उनले वार्तामा सहभागी सबै पक्षहरू विभिन्न बुँदामा सहमत भएको दाबी गर्दै अन्तिम सम्झौता नभएसम्म इरानमाथिको नौसैनिक नाकाबन्दी भने यथावत् रहने बताएका छन् ।
यसअघि ट्रम्पले अमेरिका इरानविरुद्ध ठूलो सैन्य कारबाहीको तयारीमा रहेको घोषणा गरेका थिए । उनले इरानको नौसेना, वायुसेना, राडार प्रणाली, विमानविरोधी प्रतिरक्षा संयन्त्र तथा आक्रमण क्षमताको ठूलो हिस्सा नष्ट भइसकेको दाबी पनि गरेका छन् ।
ट्रम्पको पछिल्लो अभिव्यक्तिसँगै तत्कालका लागि अमेरिका–इरानबीचको तनाव सैन्य टकरावतर्फ नबढी कूटनीतिक वार्तामार्फत समाधान खोज्ने दिशामा गएको देखिन्छ ।

























