
अर्जेन्टिना । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । उनी विश्वकपको छैटौं संस्करण खेल्ने पहिलो फुटबलर बनेका छन् । यससँगै उनले आफ्नो नाममा रहेको विश्वकप सहभागिताको कीर्तिमान अझ बलियो बनाएका छन् ।
अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडीसमेत रहेका मेस्सीले अल्जेरियाविरुद्ध मैदान उत्रँदै विश्वकपको आफ्नो सत्ताइसौं खेल पूरा गरेका छन् । यसअघि उनले विश्वकपमा छब्बीस खेल खेल्दै सर्वाधिक सहभागिताको कीर्तिमान कायम गरिसकेका थिए ।
यो खेल मेस्सीका लागि अर्को विशेष कारणले पनि स्मरणीय बनेको छ । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि दुई सयौं अन्तर्राष्ट्रिय खेल खेलेका छन् । अर्जेन्टिनाको जर्सीमा दुई सय खेल खेल्ने उनी पहिलो फुटबलर बनेका हुन् ।
हालै ह्यामस्ट्रिङको समस्याबाट गुज्रिएका मेस्सीले विश्वकपलाई प्राथमिकतामा राख्दै पुनरागमन गरेका थिए । यो समाचार तयार पार्दासम्म उनले अल्जेरियाविरुद्धको खेलको सत्रौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका छन् ।
यो मेस्सीको विश्वकपमा गरेको १४औं गोल हो । उनको प्रदर्शनले अर्जेन्टिनी समर्थकलाई थप उत्साहित बनाएको छ ।

























