युवाद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्रः सामाजिक सुरक्षा र जनस्वास्थ्यका मुद्दामा ध्यानाकर्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १४:२०
युवाद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्रः सामाजिक सुरक्षा र जनस्वास्थ्यका मुद्दामा ध्यानाकर्षण

विराटनगर । सुनसरी, धनकुटा र उदयपुरका युवाहरूको एक प्रतिनिधिमण्डलले गृहमन्त्री सुदन गुरुलाई स्थानीय स्तरमा देखिएका समस्या समाधान र नागरिक सुरक्षालाई प्रभावकारी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

गृह मन्त्रालयमा पुगेर बुझाइएको उक्त ज्ञापनपत्रमा स्थानीय स्तरमा बढ्दै गएका सामाजिक, सुरक्षा तथा जनस्वास्थ्यसँग सम्बन्धित चुनौतीहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

Advertisement

युवाहरूले बुझाएको ज्ञापन पत्रमा मुख्यगरी लागुऔषध दुरुपयोग नियन्त्रण तथा पुनर्स्थापना सेवाको विस्तार, गाँजा खेती नियन्त्रणसँगै किसानका लागि वैकल्पिक र व्यावसायिक कृषि प्रवर्द्धनका कार्यक्रम ल्याउन माग गरिएको छ । यस्तै, सडक दुर्घटना न्यूनीकरणका लागि आधुनिक सीसीटीभी निगरानी प्रणाली जडान, आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्नुपर्ने विषयलाई पनि जोड दिइएको छ ।

टोलीमा सहभागी सुनसरीका युवा अर्जुन पोख्रेलका अनुसार सुनसरीको कप्तानगन्जमा भएको पछिल्लो घटना र धरानको विजयपुरसँग सम्बन्धित समस्याको दीर्घकालीन समाधानका लागि गृह प्रशासनको सक्रियता र पहल आवश्यक रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

‘स्थानीय स्तरमा लामो समयदेखि थन्किएका र नागरिकको सुरक्षासँग जोडिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आवश्यकता छ,’ पोख्रेलले भने, ‘हामीले ज्ञापनपत्रमार्फत नागरिकमैत्री सरकारी सेवा र सामाजिक सद्भाव कायम राख्न ठोस कदम चाल्न आग्रह गरेका छौँ ।’ ज्ञापन पत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र स्थानीय समस्याहरूको स्थायी समाधानका लागि केन्द्र सरकार, स्थानीय प्रशासन र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने उल्लेख गरिएको छ । युवाहरूले आफ्ना मागहरू कार्यान्वयनका लागि सम्बन्धित निकायलाई तत्काल आवश्यक निर्देशन दिनसमेत गृहमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

सरकारी कार्यालयहरूमा नागरिकले झन्झटमुक्त सेवा पाउनुपर्ने र लागुऔषध तथा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना कार्यक्रमलाई गाउँ–गाउँसम्म पुर्‍याउनुपर्ने मागप्रति गृहमन्त्रीले सकारात्मक प्रतिक्रिया दिँदै आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×