
विराटनगर । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले बैठकमा अनुपस्थित भएपछि दुई मन्त्रालयका सचिवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबारको बैठकमा नआएपछि समितिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिवसँग लिखित जवाफ माग गर्ने निर्णय गरेकाे हाे ।
समिति सभापति राजन किराँतीले सचिवहरूको अनुपस्थितिलाई संसदीय गरिमाको अपमान र समितिको अटेरीका रूपमा लिएको बताए ।
महालेखा परीक्षकको सातौँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्न बोलाइएको बैठकमा सचिवहरू नआएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।
समितिका सभापति किराँतीले बैठकमा नआउनुको लिखित कारणसहित अर्को बैठकमा उपस्थित हुन निर्देशन दिने निर्णय गरेर शुक्रबारकाे बैठक स्थगित भएकाे बताए ।’कार्यालयका लेखा उत्तरदायी अधिकारीलाई पत्र पठाइएकाे हुन्छ, मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव बाहेक तीन जना सचिव छन्, उहाँहरु मध्ये जाे उपस्थित हुँदा पनि हुन्थ्याे,’ उनले भने,’ नआएपछि स्पष्टिकरण साेधेका छाै ।’
उनका अनुसार मुख्यमन्त्रीकाे कार्यालयले समितिलाई अटेर गरेकाे पहिलाे पटक भने हाेइन् । ‘अस्ति जेठ २७ गते महालेखा परीक्षकसहितको त्रिपक्षीय बैठकमा मुख्यमन्त्री कार्यालयका सचिवलाई बोलाउँदा उपस्थीत हुनुभएन, आज बोलाउँदा पनि आउनुभएन,’ उनले भने,‘ यो त समितिलाई नै नपत्याए जस्ताे भयाे, संसदलाई नै नपत्याउने विषय गम्भीर हो ।’



















