
अमेरिका । फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित हात पार्दै मोरक्कोले समूह चरणको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । शनिबार भएको खेलमा स्कटल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै मोरक्कोले महत्वपूर्ण तीन अंक बटुलेको हो ।
खेल सुरु भएको केही क्षणमै मोरक्कोले अग्रता लिएको थियो । टोलीका इसामेल सैबरीले खेलको ७० सेकेन्डमै गोल गर्दै आफ्नो टोलीलाई अघि बढाएका थिए । विश्वकप २०२६ मा हालसम्म भएका खेलमध्ये यो सबैभन्दा छिटो गोलसमेत बनेको छ ।
सैबरी यसअघि ब्राजिलविरुद्धको खेलमा पनि गोल गर्न सफल भएका थिए । ब्राजिलसँगको खेल १–१ को बराबरीमा सकिँदा मोरक्कोले एक अंक प्राप्त गरेको थियो । स्कटल्याण्डमाथिको जितपछि थप तीन अंक जोड्दै मोरक्कोले समूह तालिकामा आफ्नो अंक संख्या चार पुर्याएको छ ।
स्कटल्याण्डले खेलभर बराबरी गोल फर्काउने प्रयास गरे पनि मोरक्कोको रक्षापंक्तिलाई तोड्न सकेन । परिणामस्वरूप टोलीले प्रतियोगितामा पहिलो हार बेहोर्नु पर्यो ।
यसअघि समूह चरणको पहिलो खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । त्यस जितबाट प्राप्त तीन अंकका आधारमा स्कटल्याण्डले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको थियो । तर, मोरक्कोसँगको हारपछि उसको यात्रामा दबाब थपिएको छ ।
यता, पहिलो जित निकालेसँगै मोरक्कोले नकआउट चरण प्रवेशको सम्भावनालाई जीवन्त राखेको छ । समूहको अन्तिम चरणका खेलले अब दुवै टोलीको भविष्य निर्धारण गर्नेछ ।



















