
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ‘अलग लेबलका मान्छे’ भएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताएका छन् । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले बालेनको सोच र कार्यशैलीको प्रशंसा पनि गरे ।
सम्बोधनका क्रममा राउतले बालेन समस्याभन्दा माथि उठेर सोच्ने नेता भएको उल्लेख गरे। ‘हाम्रो प्रधानमन्त्री अलग लेबलका बन्दा है। उहाँ समस्याभन्दा माथि उठेर सोच्नुहुन्छ। उहाँ ड्यासिङ र गुड लुकिङ हुनुहुन्छ,’ उनले भने ।
अध्यक्ष राउतले प्रधानमन्त्री शाहलाई जनतालाई हृदयमा राखेर काम गर्न सुझाव दिए । राउतले आफूलाई महाधिवेशनमा निमन्त्रणा गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए। उनले रास्वपासँग प्रतिस्पर्धाको सम्बन्ध नभई सहकार्यको सम्बन्ध रहेको बताए । ‘म तपाईंहरूको प्रतिस्पर्धी होइन, म तपाईंहरूको सहयात्री हुँ। म सहयात्री बनेर चितवन आइपुगेको छु,’ अध्यक्ष राउतले भने।

























