रास्वपा महाधिवेशन : सोमबार बन्दसत्र, मंगलबारदेखि चुनाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ८, सोमबार ०७:२१

चितवन । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत सोमबार बन्दसत्र हुँदैछ । मंगलबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।

महाधिवेशनसँगै पार्टीको विधान संशोधन गरी संगठनलाई थप समावेशी बनाउने तयारी गरिएको छ । विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार नयाँ व्यवस्थाअनुसार पार्टीको कार्यसमितिमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गरिएको छ ।

Advertisement

पार्टीमा अब एक सभापतिसहित तीन उपसभापति रहनेछन् । जसमा कम्तीमा एक जना महिला हुनेछन् । त्यस्तै, दुई महामन्त्री र पाँच सहमहामन्त्रीमध्ये पनि एक महिला अनिवार्य रहने व्यवस्था गरिएको छ ।

संशोधित विधानअनुसार केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । सभापतिसहित ९९ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सदस्य समावेशी आधारमा सभापतिले मनोनयन गर्नेछन् । सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था गरिएको छ ।

यसअघि सभापतिबाट मात्र मनोनित हुने कोषाध्यक्ष र प्रवक्तासँगै अब एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्रीसमेत मनोनयनमार्फत समावेश गर्न सकिने प्रावधान थपिएको छ । एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ताको व्यवस्था पनि गरिएको छ ।

प्रत्यक्ष निर्वाचित हुने ९९ सदस्यमध्ये प्रत्येक प्रदेशबाट पाँच–पाँच जना केन्द्रीय सदस्य चयन हुनेछन् । प्रदेशबाट प्रतिनिधित्व गर्ने ३५ जनामध्ये प्रत्येक प्रदेशबाट कम्तीमा दुई महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । साथै, जनसंख्या र समुदायको प्रतिनिधित्वलाई ध्यानमा राख्दै कोशी र गण्डकीबाट एक–एक जना जनजाति, कोशी र सुदूरपश्चिमबाट एक–एक जना दलित, लुम्बिनीबाट एक जना थारू तथा मधेश प्रदेशबाट एक जना मधेशी दलित अनिवार्य रहने प्रावधान राखिएको छ ।

समावेशी प्रतिनिधित्व र पार्टी एकीकरणको भावनालाई सम्बोधन गर्न सभापतिलाई मनोनयनको अधिकारसमेत थप गरिएको विधान संशोधन समितिले जनाएको छ । वरिष्ठ नेता स्वतः रहने व्यवस्था पनि गरिएको छ ।

आइतबार उद्घाटन भएको रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत सोमबार उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रबाट विधान संशोधनसहित विभिन्न प्रस्ताव पारित गरिएपछि मंगलबारदेखि नेतृत्व चयनको औपचारिक प्रक्रिया अघि बढ्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.