२८ वर्षपछि नर्वे विश्वकपको नकआउट चरणमा 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ९, मंगलबार ०९:११
२८ वर्षपछि नर्वे विश्वकपको नकआउट चरणमा 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको निकै रोमाञ्चक खेलमा सेनेगललाई ३–२ गोल अन्तरले पराजित गर्दै नर्वे प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । यो जितसँगै नर्वेले २८ वर्षपछि विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गर्दै इतिहास रचेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी स्टेडियममा भएको प्रतिस्पर्धामा नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर अर्लिङ हालान्डले निर्णायक प्रदर्शन गरे । हालान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले थप एक गोलको योगदान दिए ।

Advertisement

खेलको सुरुदेखि नै आक्रामक देखिएको नर्वेका लागि हालान्डले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सेनेगलका लागि इस्माइला सरले दुई गोल गर्दै खेललाई बराबरीमा ल्याउने प्रयास गरे पनि नर्वेको बलियो रक्षा पङ्क्ति र हालान्डको लयका अगाडि सेनेगलको प्रयास पर्याप्त हुन सकेन ।

यो जितपछि नर्वेले समूह चरणमा ६ अंक जोड्दै नकआउट चरणको यात्रा तय गरेको हो । नर्वेसँगै सोही समूहमा रहेको बलियो टोली फ्रान्स पनि अघिल्लो चरणमा प्रवेश गरेको छ । अर्कोतर्फ, नर्वेसँगको पराजयसँगै सेनेगल भने समूह चरणबाटै बाहिरिन पुगेको छ ।

नर्वे सन् १९९८ को विश्वकपपछि पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको हो । लामो समयको प्रतीक्षापछि विश्वकपको अन्तिम १६ मा पुगेपछि नर्वेली समर्थकहरूले ठुलो खुसीयाली मनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.