
अमेरिका । पहिलोपटक फिफा विश्वकप २०२६ मा सहभागिता जनाएको जोर्डन समूह चरणबाटै बाहिरिएको छ । मंगलबार अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा भएको समूह ‘जे’ अन्तर्गतको खेलमा अल्जेरियासँग २–१ ले पराजित भएपछि जोर्डनको विश्वकप यात्रा समाप्त भएको हो ।
खेलको पहिलो हाफमा जोर्डनले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाउन सफल भएको थियो । ३६औँ मिनेटमा निजार अल रशदानले गोल गर्दै टोलीलाई १–० को अवस्थामा पुर्याएका थिए । पहिलो हाफसम्म अग्रता कायम राखेको जोर्डनले दोस्रो हाफमा भने त्यसलाई जोगाउन सकेन ।
अल्जेरियाले खेलमा पुनरागमन गर्दै ६९औँ मिनेटमा बराबरी गोल फर्कायो । कप्तान रियाद महरेजले दिएको आकर्षक क्रसलाई नाधीर बेनबोउलीले सदुपयोग गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
बराबरी गोलपछि उत्साहित बनेको अल्जेरियाले ८२औँ मिनेटमा निर्णायक गोल निकाल्यो । अमाइन गौइरीले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अल्जेरियाले महत्वपूर्ण तीन अंक हात पार्न सफल भयो ।
यस जितसँगै अल्जेरियाले प्रतियोगितामा पहिलो विजय दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको छ । समूह ‘जे’ मा दुई खेलपछि अल्जेरियाको तीन अंक पुग्दा टोली तेस्रो स्थानमा रहेको छ ।
समान तीन अंक भए पनि गोलअन्तरका आधारमा अष्ट्रिया दोस्रो स्थानमा रहेको छ । साविक विजेता अर्जेन्टिनाले भने लगातार दोस्रो जित निकाल्दै दुई खेलबाट ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको अर्जेन्टिना एक खेल बाँकी रहँदै समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।
विश्वकपमा पहिलोपटक सहभागी भएको जोर्डन भने लगातार दुई हारसँगै अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ । ऐतिहासिक सहभागितालाई नकआउट चरणसम्म पुर्याउने उसको सपना भने पूरा हुन सकेन ।



















