
रंगेली । असार महिना सुरु भएसँगै किसानलाई धान रोपाइँको चटारोले छोपेको छ । टनटलापुर धामको प्रवाह नगरी किसान रोपाइँकाे तयारीमा ब्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने समयमा खेतबारीमा किसान व्यस्त छन् ।
पर्याप्त वर्षा नभएका कारण खेती प्रणालीमा केही समस्या देखिए पनि कृषकहरूले मोटर प्रयोग गरी भूमिगत जलमार्फत राेपाइकाे तयारी गरिरहेका हुन् ।
वर्षभरि परिवार पाल्ने मुख्य आधार र आम्दानीको प्रमुख स्रोत नै धान खेती भएकाले बिहानैदेखि साँझसम्म किसानहरू खेतमै भेटिन्छन् ।
स्थानीय किसानहरूका अनुसार एकातिर समयमा पानी नपर्दा सिँचाइ खर्च बढेको छ भने अर्कोतिर गाउँघरमा कृषि मजदुरको अभाव छ । मजदुर अभावका कारण ज्यालादर महँगिँदा धान उत्पादनको लागत वर्षेनी बढ्दै गएको उनीहरूको भनाइ छ ।



























