
अमेरिका । दक्षिण अफ्रिकाले फिफा विश्वकप, २०२६ मा नयाँ इतिहास बनाउँदै पहिलोपटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
समूह ‘ए’ को अन्तिम खेलमा दक्षिण कोरियामाथि १–० को महत्वपूर्ण जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम १६ मा पुगेको हो । खेलको ६३औँ मिनेटमा थापेलो मासेकोले गरेको गोल नै निर्णायक बन्यो ।
विश्वकपमा चौथोपटक सहभागी दक्षिण अफ्रिकाले यसअघि सन् १९९८, २००२ र २०१० संस्करणमा समूह चरण पार गर्न सकेको थिएन । यसपटक भने समूह उपविजेताका रूपमा अगाडि बढ्न सफल भएको छ ।
दक्षिण अफ्रिकाले तीन खेलबाट चार अंक बटुल्यो । समूह विजेता बनेको सहआयोजक मेक्सिकोले शतप्रतिशत नतिजासहित नौ अंक जोड्दै नकआउट यात्रा तय गरेको छ ।
दक्षिण कोरियाको तीन अंकसहित समूह चरण समाप्त गरेको छ । उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये पर्ने सम्भावना कायम रहेकाले उसको नकआउट यात्रा अझै अन्य नतिजामा निर्भर छ । एक अंक मात्र जोडेको चेक रिपब्लिक भने समूह चरणबाटै बाहिरिएको छ ।

























