
काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि हिरासत अवधि थप गर्न आइतबार पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो । विभागको मागमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल तथा उमेश कोइरालाको संयुक्त इजलासले तीन दिन म्याद थप गर्ने आदेश दिएको हो ।
अदालतको आदेशसँगै पौडेललाई अनुसन्धान जारी राख्न न्यायिक हिरासतमा पठाइएको छ । विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो । त्यसयता अनुसन्धान प्रक्रिया निरन्तर जारी रहेको छ । अहिले अदालतबाट थपिएको म्यादभित्र विभागले आवश्यक बयान, प्रमाण संकलन तथा अन्य अनुसन्धानात्मक प्रक्रिया अगाडि बढाउनेछ ।

























