
विराटनगर । कोशी प्रदेशमा पूर्णखोप सुनिश्चितता अभियान अन्तिम चरणमा प्रवेश गरेको छ । कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी भइरहेको हो ।
यही असार २८ देखि ३० गते भित्रमा खोपसँग सम्बन्धित तयारी कार्यक्रमहरू सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको कार्यक्रमका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका खोप सुपरभाइजर भारत भण्डारीले जानकारी दिए । राष्ट्रिय खोप कार्यक्रमको समीक्षा तथा प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाहरूले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन थप प्रभावकारी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कोशीको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले मंगलबार विराटनगरमा खोप समन्वय समिति तथा सरोकारवालाहरूको संयुक्त बैठक तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशीलाई पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिइएको छ ।
तथ्यांकले के देखाउँछ ?
राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ का अनुसार नेपालमा १२–२३ महिना उमेर समूहका बालबालिकामध्ये ७८ प्रतिशतले मात्र राष्ट्रिय खोप तालिकाअनुसार सबै आधारभूत खोप पाएका छन् । १६ प्रतिशत बालबालिका आंशिक रूपमा मात्र खोप पाएर पूर्ण खोपबाट वञ्चित रहेका छन् । ४ प्रतिशतले एउटै पनि खोप पाउन नसकेको भण्डारीले बताए । उनका अनुसार बाँकी झन्डै २ प्रतिशतको हकमा खोप अभिलेख स्पष्ट नभएको देखिन्छ । खोपबाट छुटेका यस्ता बालबालिकालाई लक्षित गर्दै सरकारले अभियानलाई थप तीव्र बनाएको छ ।
खोप सुपरभाइजर भण्डारीले धेरै प्रयासका बाबजुद पनि केही बालबालिका खोपबाट छुटिरहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी र समुदाय सबैको सहकार्य आवश्यक रहेको बताए । ‘अझै १६ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुनु चुनौती हो । ४ प्रतिशतले त खोप नै पाउन सकेका छैनन् । सबै पक्षको सहयोग, सुझाव र समन्वयबाट अब कुनै पनि बालबालिका खोपबाट छुट्ने अवस्था आउन नदिन योजना बनाएर अघि बढ्नुपर्छ,’ भण्डारीले भने ।
पूर्णखोप घोषणाको आधार के के हुन् ?
कार्यक्रममा प्रदेशलाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने आधारहरूका बारेमा पनि छलफल भएको थियो । कुनै वडा, स्थानीय तह वा प्रदेशलाई पूर्णखोप सुनिश्चित घोषणा गर्नका लागि नियमित खोपको सबै मात्राको प्रगति कम्तीमा ९५ प्रतिशतभन्दा माथि हुनुपर्ने साथै प्रत्येक वर्ष घरधुरी सर्वेक्षण गरी छुट बालबालिकाको पहिचान गरेर खोप पूरा गरेको हुनुपर्छ । त्यस्तै, खोप अभिलेख र ट्र्याकिङ प्रणाली अद्यावधिक भएको हुनुपर्ने, कोल्डचेन व्यवस्थापन मापदण्डअनुसार सुदृढ भएको हुनुपर्ने र वडास्तरदेखि प्रदेशस्तरसम्म तहगत प्रमाणीकरण प्रक्रिया पूरा भएको हुनुपर्ने जस्ता आधार रहेका छन् । यी कार्यहरुको अभिलेख प्रतिवेदन पनि तहगत रुपमा चुस्त दुरुस्त र अद्यावधिक भएको हुनपर्छ ।
यस्तो प्रमाणीकरण वडा, स्थानीय तह, जिल्ला हुँदै प्रदेश र संघीय तहबाट परीक्षणपछि मात्र सम्पन्न हुने जनाइएको छ । कोशी प्रदेशका १४ जिल्लाका सबै वडा (१ हजार १ सय ५७ वटा वडा) र सबै स्थानीय तह (१३७ वटा) नै पूर्णखोप सुनिश्चितता एवं दिगोपना प्रमाणिकरण र घोषणा भइसकेका छन् । १४ वटै जिल्लाहरुबाट प्रमाणीकरण तथा अनुमोदनका लागि प्रदेश खोप समन्वय समितिमा प्रतिवेदन र सिफारिस प्राप्त भइसकेको भण्डारीले बताए ।
जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा ठाकुरले अहिलेसम्म १६ प्रतिशत बालबालिकाले किन नियमित खोप लगाएनन् भन्ने यथार्थ केलाएर अघि बढ्नुपर्ने बताइन् । ‘यो अवस्था दोहोरिनु हुँदैन । कुन वडामा, कुन कारणले बालबालिका खोपबाट छुटे भन्ने यकिन गरेरै हामीले अघिल्लो वर्षका कमीकमजोरीको मूल्यांकन गर्नुपर्छ । पहुँचको समस्या हो कि सूचनाको कमी, कि अभिलेखीकरणमै त्रुटि हो भन्ने पहिचान भएपछि मात्र पूर्णखोप घोषणा साँच्चिकै अर्थपूर्ण हुन्छ,’ उनले भनिन् । आगामी वर्ष यस्ता कमीकमजोरीलाई सुधार गर्दै थप सशक्त योजनासहित अघि बढ्नुपर्ने सुझाव पनि उनले दिइन् ।
कार्यक्रममा खोप कभरेजमा देखिएको असमानता, स्थानीय तहमा कोल्डचेन व्यवस्थापन, खोपबाट बचाउन सकिने रोगको जोखिम लगायतका विषयमा पनि छलफल गरिएको थियो । वक्ताहरूले समुदायस्तरसम्म पुगेर खोप लगाउनबाट छुटेका बालबालिकाको पहिचान गरी खोपको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
कोशीको स्वास्थ्य मन्त्रालयका सचिव डा. यधुचन्द्र घिमिरेले खोप अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने सबै पक्षलाई धन्यवाद दिँदै राष्ट्रिय खोप कार्यक्रमलाई थप मजबुत बनाउनुपर्ने बताए । उनले भारत भण्डारीले खोप अभियानमा पुर्याएको योगदानको प्रशंसा गर्दै प्रदेश पूर्णखोप घोषणाका लागि अन्तिम तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
सचिव घिमिरेले अझै खोपबाट वञ्चित रहेका बालबालिकालाई लक्षित गर्दै प्रभावकारी योजना र समन्वयका साथ अघि बढ्नुपर्ने बताए । नेपालले पोलियो उन्मूलन र नवशिशु धनुष्टंकार निवारणजस्ता उपलब्धि हासिल गरिसकेको अवस्थामा अब दादुरा–रुबेला जस्ता रोगलाई नियन्त्रण गर्दै पूर्णखोप सुनिश्चितता कायम गर्ने लक्ष्य लिएको छ ।
‘खोप निशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ’ भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा सबै सरोकारवालालाई पूर्णखोप अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरिएको थियो । सरोकारवालाहरुले जीवन रक्षाका लागि बालबालिकाहरुले सबै प्रकारका खोप समयमै लगाउनुपर्ने बताए । नेपालमा सञ्चालन भएको पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम विश्वमै नवीनतम् कार्यक्रम रहेको र प्राप्त परिणाम हेर्दा कार्यक्रमको औचित्य पुष्टि हुने उनीहरुको भनाइ छ ।
चालु आर्थिक वर्षमा सञ्चालन भएको क्रियाकलापबाट कुनै पनि खोप नपाएका (शून्य मात्रा) बालबालिकाको संख्या २ सय ७९ जना र खोप सुरु गरेर आंशिक खोप मात्रै प्राप्त गरेका बालबालिकाको संख्या ५ हजारभन्दा धेरै छ । त्यही भएर खोप कार्यक्रमलाई निरन्तर र प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ । उनीहरुका अनुसार खोप छुट हुने विविध कारणहरु विद्यामान छन् । त्यसको निराकरणका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रबाट मात्र सम्भव नहुने हुँदा बालबालिकालाई पूर्ण खोप दिलाउन सम्पूर्ण सरोकारवाला निकाय, समुदाय र अभिभावकको भूमिका महत्वपूर्ण हुने उनीहरुको भनाइ छ ।


























