हालान्डको निर्णायक गोलमा नर्वे विश्वकप फुटबलको अन्तिम १६ मा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार ०६:१४

अमेरिका । विश्वकप फुटबल २०२६ अन्तर्गत नकआउट चरणको खेलमा नर्वेले आइभोरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले खेल सकिन चार मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन् । अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालामा मंगलबार राति सम्पन्न खेलमा नर्वेले पहिलो अग्रता लिएको थियो ।

खेलको ३९औँ मिनेटमा आन्तोनियो नुसाले सुन्दर प्रहारमार्फत गोल गर्दै नर्वेलाई १–० को अग्रता दिलाए । पहिलो हाफभर नर्वेले सोही अग्रता कायम राख्यो ।

दोस्रो हाफमा आइभोरी कोस्टले आक्रामक खेल प्रदर्शन गर्दै बराबरी गोल फर्कायो । खेलको ७४औँ मिनेटमा वैकल्पिक खेलाडी अमाद डियालोले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

बराबरीपछि खेल अतिरिक्त समयमा जाने सम्भावना बढिरहेका बेला नर्वेले उत्कृष्ट सामूहिक आक्रमण बुनेको थियो । खेलको ८६औँ मिनेटमा ओस्कार बोब र प्याट्रिक बेर्गको समन्वयपछि आएको बललाई एर्लिङ हालान्डले जाली चुमाउँदै नर्वेलाई २–१ को अग्रता दिलाए । हालान्डको यही गोल अन्ततः जितका लागि निर्णायक बन्यो ।

बाँकी समयमा आइभोरी कोस्टले बराबरी गोलका लागि निरन्तर प्रयास गरे पनि नर्वेको रक्षापंक्तिले त्यसलाई विफल बनायो । निर्धारित समय समाप्तिसँगै नर्वे २–१ को विजेता बन्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।

यस जितसँगै नर्वेले विश्वकपको नकआउट चरणमा पहिलो पटक जित दर्ता गरेको छ । अब नर्वेले अन्तिम १६ मा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

हालान्डका लागि पनि यो खेल विशेष रह्यो । उनले प्रतियोगितामा आफ्नो पाँचौँ गोल गर्दै राष्ट्रिय टोलीका लागि कुल ६० गोल पूरा गरेका छन् । निर्णायक क्षणमा गोल गर्दै उनले टोलीलाई अर्को चरणमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.