
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले शपथ ग्रहणसँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ ।
काठमाडौंको बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् । महाधिवेशनबाट निर्वाचित नेतृत्वले शपथ लिएपछि रास्वपाले आफ्नो नयाँ संगठनात्मक संरचनालाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।
रास्वपाको प्रथम महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ६ जना केन्द्रीय पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापतिमा लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
शपथ ग्रहण कार्यक्रमपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टीको प्रतीकस्वरूप घण्टीजडित मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेका थिए । यसैबीच, रास्वपाले नयाँ कार्यकालको पहिलो केन्द्रीय समिति बैठक पनि बुधबार नै बसाल्ने तयारी गरेको जनाएको छ ।
बैठकमा पार्टीको विधानअनुसार मनोनयन गरिने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने बताइएको छ । साथै, आगामी संगठनात्मक कार्ययोजना, जिम्मेवारी बाँडफाँट तथा पार्टीको भावी रणनीतिका बारेमा समेत प्रारम्भिक छलफल हुने नेताहरुले बताएका छन् । प्रथम महाधिवेशनपछि शपथ ग्रहण कार्यक्रम सम्पन्न भएसँगै रास्वपाको नयाँ नेतृत्व औपचारिक रूपमा सक्रिय भएको छ ।

























