
अमेरिका । साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा आत्मघाती गोलको सहयोग पाउँदै केप भर्डेमाथि ३–२ गोलको कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
मियामी स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा केप भर्डेले दुईपटक खेल बराबरीमा ल्याएर अर्जेन्टिनालाई दबाबमा पारे पनि अन्तिम समयमा भएको दुर्भाग्यपूर्ण आत्मघाती गोलले उसको विश्कप यात्रा अन्तिम १६ मा प्रवेश गर्नै नपाइकन टुंगिएको हो । अतिरिक्त समयको आत्मघाती गोलले केप भर्डेको सपना चकनाचुर पारेको छ ।
खेलको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफसम्म यही अग्रता कायम राखेको अर्जेन्टिनाविरुद्ध मध्यान्तरपछि केप भर्डेले उत्कृष्ट पुनरागमन गर्यो । ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः २–१ को अग्रता दिलाए ।
तर, केप भर्डेले हार मानेन । अतिरिक्त समयकै ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले आकर्षक गोल गर्दै खेललार्य २–२ को बराबरीमा पुर्याएर अर्जेन्टिनालाई पुनः दबाबमा पारे ।
यद्यपि, खेलको १११औं मिनेटमा डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्यो । उक्त गोलपछि अर्जेन्टिनाले ३–२ को अग्रता जोगाउँदै त्यसलाई अन्तिम सिट्टीसम्म कायम राख्यो र अन्तिम १६ को यात्रा तय गर्यो ।
लगातार चुनौती सामना गर्दै पनि अनुभवी टोली अर्जेन्टिनाले अन्ततः संघर्षपूर्ण जित निकाल्न सफल भयो भने उत्कृष्ट प्रदर्शनका बाबजुद केप भर्डे दुर्भाग्यपूर्ण आत्मघाती गोलका कारण प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।

























