
विराटनगर । मोरङ उद्योग व्यापार संघले आफ्नो हीरक जयन्ती वर्षको अवसरमा मोरङ बहिरा क्रिकेट संघका खेलाडीहरूलाई खेल पोसाक (जर्सी) सहयोग गरेको छ ।
मोरङ बहिरा क्रिकेट संघको आयोजनामा आगामी दिनमा सञ्चालन हुन लागेको ‘चौथो प्रादेशिक क्रिकेट प्रतियोगिता’ मा सहभागी हुने खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले संघले ३० थान जर्सी उपलब्ध गराएको हो ।
मोरङ उद्योग व्यापार संघमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह र महासचिव सञ्जयकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरूको टोलीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधिहरू मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरलाई जर्सीहरू हस्तान्तरण गरे ।
जर्सी हस्तान्तरण गर्दै संघका अध्यक्ष अनुपम राठीले शारीरिक रूपमा विशेष फरक क्षमता भएका खेलाडी दाजुभाइहरूको मनोबल उच्च राख्न र खेल क्षेत्रमा उनीहरूको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा संघ परिवार अत्यन्तै हर्षित रहेको बताए । उनले आगामी दिनहरूमा पनि संघले यस्ता सकारात्मक र खेल प्रवर्द्धन गर्ने कार्यहरूमा आफ्नो सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, मोरङ बहिरा क्रिकेट संघका तर्फबाट मोहन तिवारीले मोरङ उद्योग व्यापार संघको यो सहयोगप्रति आभार व्यक्त गरे । उनले यस सहयोगबाट खेलाडीहरूमा नयाँ ऊर्जा थपिएको र आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला मिलेको बताए ।

























