
विराटनगर । काेशी प्रदेशमा रहेका गृहमन्त्री सुधन गुरुङले आइतबार धनकुटाकाे निरीक्षण गरेका छन् । शनिबार साँझ पर्यटकीय नगरी भेडेटारमा बास बसेका मन्त्री गुरुङले आइतबार बिहानैदेखि सुरक्षा र प्रशासनिक निकायको निरीक्षणका साथै धार्मिक र पारिवारिक भेटघाट गरेका हुन् ।
मन्त्री गुरुङले धनकुटा-६ स्थित ऐतिहासिक निशान भगवती मन्दिरमा पुगेर पूजा-अर्चना गरे । सो क्रममा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । मन्दिर दर्शन पश्चात् उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको निरीक्षण गरेका थिए ।
निरीक्षणका क्रममा उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रहरीको कार्यसम्पादन र नागरिकलाई दिइने सेवा प्रवाहबारे प्रत्यक्ष जानकारी लिएका थिए । ‘जनताले सरकारी सेवा पाउन सास्ती भोग्नु नपरोस्,’ भन्ने भावका साथ उनले प्रशासनिक संयन्त्रसँग छलफल गरेका थिए । सार्वजनिक रूपमा कुनै औपचारिक प्रतिक्रिया नदिए पनि मन्त्री गुरुङले कर्मचारीहरूलाई चुस्त सेवा प्रवाहका लागि निर्देशन दिएका थिए ।
उनले धनकुटा-५ मा रहेका आफन्तसँग पारिवारिक भेटघाटसमेत गरे । आइतबार धनकुटाको भ्रमण सकेर उनी धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । धरानमा रहदा उनले घाेपा बचाउ अभियान सञ्चालन गरेका थिए ।

























