ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार २०:४१
ट्रेड युनियनका भवन ३ दिनभित्र खाली गर्न सरकारको अल्टिमेटम

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी जग्गामा निर्माण गरिएका निजामती कर्मचारीका विभिन्न ट्रेड युनियन तथा संगठनका भवन र संरचनाहरू तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै साबिकका राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले प्रयोग गर्दै आएका सरकारी स्वामित्वका जग्गा र त्यसमा बनेका भौतिक संरचनाहरूको कानुनी आधार समाप्त भएको जनाएको छ । सरकारले निजामती कर्मचारीको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेसँगै ती संगठनहरूको दर्ता र वैधानिकतासमेत समाप्त भएकाले यस्तो कदम चालिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रिपरिषद्को निर्णय तथा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट ती ट्रेड युनियनहरूको दर्ता खारेज भइसकेको छ । सोही कारण सरकारी जग्गा र भवनमा ती संगठनहरूको हक समाप्त भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात, सम्पत्तिको विवरण र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउन निर्देशन दिइएको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालयको रोहबरमा सम्बन्धित संगठनका भवनहरूमा सूचना टाँस गरिसकेको छ ।

मन्त्रालयले तोकिएको समयभित्र संरचना खाली नगरे प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाई भवन नियन्त्रणमा लिइने चेतावनी समेत दिएको छ । सूचनामा स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ तथा मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल लगायतका संगठनले प्रयोग गरिरहेका संरचना खाली गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारको यो कदमसँगै वर्षौंदेखि सरकारी जग्गा ओगटेर बसेका कर्मचारी संगठनहरूका गतिविधि ठप्प हुने देखिएको छ । कर्मचारी संयन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त गराउने र सरकारी सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले यो निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.