
विराटनगर । आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीमाथि अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गर्ने भएको छ ।
उनलाई सोमबार राति नै काठमाडौं पठाउने तयारी भइरहेको छ । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाएर गिरीलाई सीआईबीको जिम्मा लगाइने मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाउन अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।
मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ । मोरङ अदालतले म्याद थप गर्न अस्वीकार गरेपछि गिरीलाई थप अनुसन्धानका लागि मोरङ प्रहरीले सीआईबी पठाउन लागेको हो ।
विराटनगर महानगरपालिका–८ स्थित आफ्नै घरबाट असार १३ गते पक्राउ परेका गिरीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको थियो । गिरीको तर्फबाट उच्च अदालत विराटनगरमा परेको रिट असार १७ गते खारेज भएको थियो ।
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले अनुसन्धान ५ दिनभित्र सक्न आदेश दिएको थियो । तर, अनुसन्धान जारी रहेका गिरीलाई अरु दुईवटा मुद्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा म्याद थप गर्न प्रहरीले सोमबार जिल्ला अदालत मोरङ उपस्थित गराएको हो ।
जिल्ला अदालतले गिरीको हकमा उच्च अदालतको असार १७ गतेको आदेश अनुसार गर्नु भन्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उच्च अदालतले असार १७ गते प्रहरीलाई पाँच दिनभित्र अनुसन्धान टुंग्याई अभियोगपत्र दर्ता गर्न निर्देशनात्मक आदेश दिँदै तोकिएको अवधिमा आपराधिक लाभसम्बन्धी मुद्दाको अनुसन्धान पूरा हुन नसके गिरीलाई थुनामुक्त गरी बाहिरै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन उच्चले आदेश दिएको थियो ।
उच्चकै आदेश अनुसार जिल्लाले गिरीलाई म्याद थप गर्न अस्वीकार गरेको हो । तर, गिरी छुटेनन् । मोरङ प्रहरीले भने उनलाई थप अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाएको छ ।
गिरीसँगै अनुसन्धान जारी रहेका तीन जनाको हकमा भने आपराधिक लाभ मुद्दामा सोमबारबाट लागू हुने गरी जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार विजय कामत, सञ्जयकुमार मण्डल र विनोदकुमार सिंहमाथि आपराधिक लाभ मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।
मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता र श्रमको पारिश्रमिक असुली गरी आर्थिक शोषण गरेको आरोपमा गिरी पक्राउ परेका थिए । असार १२ गते ५४४ कैदीबन्दीलाई वितरण गरिएको करिब १३ लाख ६० हजार रुपैयाँ गिरीनिकट व्यक्तिहरूमार्फत पुनः संकलन गरेर उनलाई बुझाएको फेला परेपछि गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।
तर, जिल्ला अदालतले उच्चको आदेश अनुसार हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । हाजिरी जमानीमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको हो । तर, अदालतको आदेशका बाबजुद गिरी थुना मुक्त हुन भने पाएनन् ।
मोरङ प्रहरीले गिरीविरुद्ध ‘संगठित अपराध र सम्पत्ति शुद्धीकरण’को अभियोगमा थप अनुसन्धान गर्न म्याद थपको माग गरे पनि अदालतले त्यसलाई अस्वीकार गरिदिएको हो । जिल्ला अदालतबाट छाड्ने आदेश भए पनि काठमाडौँमा उनीविरुद्ध अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएकाले उनलाई सीआईबीको जिम्मा लगाउने तयारी भएको एसपी कटवालले बताए ।
‘अभिषेक गिरीको हकमा सीआईबीले पहिले नै पक्राउ अनुमति लिइसकेका कारण हामी उनलाई थप अनुसन्धानका लागि काठमाडौँ पठाउँदैछौँ,’ एसपी कटवालले भने । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष जेल सजाय काटेर २०७९ चैत ५ गते कारागारमुक्त भएका गिरीले जेल बाहिर रहेर पनि कारागारभित्र आफ्नो ‘समानान्तर गतिविधि’ चलाइरहेका थिए ।
उनी पक्राउ परेपछि कारागारभित्र कैदीबन्दीले बुन्ने मुढा र गलैँचाको आम्दानी गिरीले नै लैजाने गरेको र कारागारको मेस (भान्सा) मा हुने खाद्यान्न आपूर्तिमा समेत उनको सिन्डिकेट चल्ने गरेको खुलेको थियो । प्रहरीले गिरीको घर खानतलासी गर्दा पैसा गन्ने मेसिनसमेत बरामद गरेको थियो ।
९ वर्ष जेल बस्दा ‘चौकीदार’ रहेका गिरीले जेलबाट निस्किएपछि पनि आफ्ना विश्वासपात्रलाई चौकिदार बनाएर कारागारको आर्थिक प्रशासन र मेसमा नियन्त्रण जमाउँदै आएका थिए । अब उनीमाथि सीआईबीले विस्तृत अनुसन्धान अघि बढाउने छ ।



















