
विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति देवरले आफ्नै भाउजूको बीभत्स हत्या गरेका छन् ।
ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको राति ८ः३० बजेतिर हत्या भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार आफ्नै देवर २१ वर्षीय सौचन राजवंशीले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
देवको खुकुरी प्रहारबाट सीमाको घाँटी छिनेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेको पाइएको छ । घटनास्थल रक्ताम्य छ । ‘खुकुरी प्रहार गरी एकदमै बीभत्स तरिकाले हत्या गरिएको छ । घरको आँगनदेखि शौचालयसम्म रगत मात्रै छ,’ घटनास्थलमा रहेका एक प्रहरीले भने ।
सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । देवर–भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास घाइते भएका छन् ।
खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका उनको नेता चोकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवलालको अवस्था मध्यम छ । भाउजूको हत्यामा संलग्न सौचनलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारण थाहा नभएको र विस्तृतमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सीमाका पति कपिल भने काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ ।

























