
काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका लागि नेपाली महिला कबड्डी टोली मंगलबार झापाको भद्रपुर प्रस्थान गरेको छ । शृंखला जुलाई १७ देखि २३ तारिखसम्म बंगलादेशको ढाकामा हुनेछ ।
खेलाडीमा मेणुका राजवंशी (कप्तान), आस्मा यादव, सिर्जनाकुमारी थारु, निशा बोहरा, गंगा घिमिरे, नानुमाया पराजुली, मनीषा जोशी, विनीता पण्डित क्षेत्री, सुस्मी राई, राधिका खडायत, उरुषा शाक्य, निर्मला भट्ट, संगीता तामाङ र पुष्पा चौधरी रहेका छन् ।
टोली असार ३० गतेसम्म भद्रपुरमा बन्द प्रशिक्षणमा रहने छ । असार ३१ गते टोली भद्रपुरबाटै ढाका प्रस्थान गर्ने छ । प्रशिक्षकमा हरिना थापा, सहायक प्रशिक्षकमा बन्धु राणा, टिम व्यवस्थापकमा कृष्णदेव पन्त, अफिसियलमा पर्शुराम झा, तरुणकुमार यादव, गणेश दत्त भट्ट, जयप्रकाश राजवंशी र प्रकाशप्रसाद शाह छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले एक कार्यक्रमबीच बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव मेहताले पछिल्लो समय कबड्डीले राम्रो गरिरहेकाले राखेपले कबड्डीलाई बढी प्राथमिकता दिएको बताउँदै आसन्न एसियाली खेलकुदमा कबड्डीको पुरुष /महिला दुवै टोली सहभागी हुने बताए ।
अध्यक्ष थापाले राखेपबाट कबड्डीले राम्रो सहयोग पाइरहेको बताउँदै सहयोगका लागि धन्यवाद दिइन् । कबड्डी संघका महासचिव अरविन्दकुमार झाले अरू खेलाडीलाई पनि अवसर दिने उद्देश्यले अधिकांश ‘बी’ टोलीका खेलाडीलाई समावेश गरिएको बताए ।

























