
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी युद्धविराम अब अन्त्य भइसकेको औपचारिक घोषणा गरेका छन् ।
दुई देशबीच हालै शृङ्खलाबद्ध आक्रमण र प्रत्याक्रमण भएका छन् । त्यसबीच राष्ट्रपति ट्रम्पले अमेरिका–इरान युद्धविराम अब अघि बढ्न नसक्ने बताए । नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्प इरानी नेतृत्वप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका थिए । इरानसँग अब कुनै पनि संवादको औचित्य नरहेको दाबी उनको थियो ।
‘युद्धविराम अब समाप्त भइसकेको छ । म अब उनीहरूसँग कुनै कुराकानी गर्न चाहन्नँ । उनीहरू घटिया मानिस हुन् । युद्धविरामको मामिला अब सकियो । उनीहरुले सधैं ढाँट्ने भएकाले कुरा गर्नु समयको बर्बादी मात्र हो,’ उनले भने । ट्रम्पले दुवै पक्षका वार्ताकारहरूले चाहेमा कुराकानी अगाडि बढाउन सक्ने भए तापनि त्यसले समयको बर्बादी मात्र गराउने टिप्पणी गरे ।
इरानी वार्ताकारहरूप्रति थप टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरू वास्तवमै मानसिक रूपमा अस्वस्थ छन् । उनीहरूका नेताहरू मानसिक रूपमा बिरामी मानिसहरू हुन् । मेरो नजरमा उनीहरूसँग डिल गर्नु समय बर्बाद गर्नु मात्र हो ।’ उनले यस विषयमा आफूले निकटवर्ती सहयोगीहरू स्टिभ विट्कफ र जेराल्ड कुश्नरसँग थप कुराकानी गर्ने बताए । तर, वार्ताको टेबलमा फर्किने वा नफर्किने भन्ने कुराको अन्तिम निर्णय अब इरानकै हातमा रहेको उनको भनाइ छ ।
यता, इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि अमेरिकामाथि दुई देशबीच भएको समझदारी पत्र (एमओयू) उल्लंघन गरेको आरोप लगाएका छन् । एक विज्ञप्ती जारी गर्दै विदेशमन्त्री अराघचीले अमेरिकी हमला, इरानी तेल बिक्रीमाथि पुनः लगाइएको प्रतिबन्ध र लेबनानमा हिजबुल्लाहसँग इजरायलको जारी संघर्षका कारण युद्ध रोक्ने सम्झौताका ‘महत्त्वपूर्ण र आधारभूत पक्षहरू निष्प्रभावी’ भइसकेको बताएका हुन् ।
उनले इरान आफ्नो ‘क्षेत्रीय अखण्डता, राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि पछि नहट्ने स्पष्ट पारे । त्यस्तै उनले आफ्नो अमेरिकी सैन्य अखडा रहेका खाडी देशहरूलाई समेत चेतावनी दिएका छन् । यदि ती अखडाहरूबाट इरानमाथि कुनै पनि आक्रमण भएमा इरानले आक्रमणको स्रोत र उक्त स्थानलाई नै निशाना बनाउने उनको चेतावनी छ ।
इरानको यो प्रतिक्रिया अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)को दाबीपछि आएको हो । जसमा अमेरिकी सेनाले इरानका ८० भन्दा बढी ठेगानाहरूमा हमला गरेको उल्लेख थियो । यसको जवाफमा आफूले बहराइनस्थित केही अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको इरानले दाबी गरेको छ ।
मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी कारबाहीका बीच नाटो सदस्य राष्ट्रका नेताहरू बुधबार अङ्कारामा उच्चस्तरीय वार्ताका लागि भेला भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प र अन्य सदस्य राष्ट्रबीच रक्षा खर्च, गठबन्धनप्रतिको प्रतिबद्धता तथा युक्रेन युद्ध प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।
शिखर सम्मेलन सुरु हुनुअघि नाटो महासचिव मार्क रुटले अमेरिकाको गठबन्धनप्रतिको प्रतिबद्धता पूर्ण रहेको बताउँदै युरोपेली सदस्य राष्ट्र र क्यानाडाले पनि रक्षा खर्च बढाएर आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले अमेरिकी प्रशासनको यही प्रमुख अपेक्षा रहेको उल्लेख गरे ।
वार्ता सुरु हुनुअघि अमेरिकी सेनाले हर्मुज जलघाँटीमा जहाजमाथिको आक्रमणपछि इरानमा व्यापक सैन्य कारबाही गरेकाले मध्यपूर्वको तनाव शिखर सम्मेलनमा पनि मुख्य चासोको विषय बनेको छ । टर्की पुग्नासाथ राष्ट्रपति ट्रम्पले राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको सम्बन्धको खुलेर प्रशंसा गरे । त्यसको विपरीत उनले फेरि नाटोप्रति असन्तुष्टि जनाउँदै केही सहयोगी राष्ट्रले इरान संकटका क्रममा पर्याप्त साथ नदिएको गुनासो गरे ।
७७ वर्ष पुरानो नाटो गठबन्धन ट्रम्पले सदस्य राष्ट्रमाथि रक्षा खर्च बढाउन निरन्तर दबाब दिइरहेका बेला शिखर सम्मेलन भइरहेको हो । नाटोले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार युरोपेली सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२६ मा ११ प्रतिशतले बढेर ६३४ अर्ब अमेरिकी डलर पुगेको छ । यो अघिल्लो वर्ष ५७१ अर्ब डलर थियो ।
ट्रम्पसँगको मतभेद कम गर्न सदस्य राष्ट्रहरूले मंगलबार अर्बौं डलर बराबरका नयाँ हतियार खरिद सम्झौता सार्वजनिक गरेका छन् । महासचिव रुटले यसलाई सहयोगी राष्ट्रहरूले आफ्नो सुरक्षा जिम्मेवारी बढाउँदै गएको प्रमाण र अमेरिकी राष्ट्रपतिका लागि ठूलो उपलब्धिका रुपमा अर्थ्याए ।
यसैबीच ट्रम्पले ग्रिनल्यान्ड अमेरिकाको नियन्त्रणमा हुनुपर्ने आफ्नो पुरानो धारणा पुनः दोहोर्याएका छन् । त्यसको जवाफमा डेनमार्क प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारे ।
शिखर सम्मेलनको अर्को महत्त्वपूर्ण विषय रुस–युक्रेन युद्ध पनि बनेको छ । ट्रम्पले युद्धरत दुवै पक्ष वार्तामार्फत समाधान खोज्न इच्छुक रहेको बताए । उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेटवार्ता गर्ने तथा त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पुनः संवाद गर्ने योजना रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।
युरोपेली राष्ट्र र क्यानाडाले सन् २०२६ र २०२७ मा युक्रेनलाई वार्षिक ७० अर्ब युरो बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि दोहोर्याएका छन् । ट्रम्पले शिखर सम्मेलनका क्रममा सिरियाका राष्ट्रपति अहमद अल–सारासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गृहयुद्धपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुनःस्थापित गर्ने प्रयास गरिरहेको सिरियाका लागि यो भेटलाई महत्त्वपूर्ण मानिएको छ ।
टर्कीसँगको रक्षा सहकार्यका बारेमा पनि सकारात्मक संकेत दिँदै ट्रम्पले अङ्कारामाथि लगाइएका अमेरिकी प्रतिबन्ध हटाउने र एफ–३५ लडाकू विमान बिक्रीको सम्भावनाका बारेमा विचार गर्ने बताए । सन् २०१९ मा रूसबाट रक्षा प्रणाली खरिद गरेपछि टर्की एफ–३५ कार्यक्रममा सहभागी हुनबाट रोकिएको छ ।



















