रेफ्रीको निर्णयप्रति इजिप्ट असन्तुष्ट, निष्पक्ष छानबिनको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १८:०७

विराटनगर । अमेरिकामा जारी विश्वकप फुटबलको अन्तिम १६ अन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलमा रेफ्री टोलीले गम्भीर त्रुटि गरेको आरोप लगाउँदै इजिप्ट फुटबल महासंघले फिफामा औपचारिक उजुरी दर्ता गरेको छ ।

महासंघले खेल सञ्चालन गरेका रेफ्री तथा उनका सहयोगीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको हो । महासंघका अनुसार खेलभरि रेफ्री टोलीले फरकफरक मापदण्ड अपनाएको थियो ।

दोस्रो हाफमा इजिप्ट १–० ले अगाडि रहेका बेला मोस्तफा जिकोले गरेको दोस्रो गोललाई भिडियो सहयोगी रेफ्रीको सिफारिसमा रद्द गरिएको थियो । उक्त खेलक्रमको सुरुआतमै मिडफिल्डर मारवान अतियाले अर्जेन्टिनाका रक्षक लिसान्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको भन्दै दिइएको फाउलको निर्णय विवादित बनेको छ ।

त्यसैगरी, अर्जेन्टिनाले निर्णायक ३–२ को गोल गर्नुअघि मोहम्मद सलाहलाई पेनाल्टी क्षेत्रमा फाउल गरिएको दाबी इजिप्टले गरेको छ । इजिप्ट फुटबल महासंघका अध्यक्ष हानी अबु रिदाले रेफ्री टोलीको गम्भीर त्रुटिका कारण आफ्नो टोली प्रतियोगिताबाट बाहिरिनुपरेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गर्न फिफासँग आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.