
अमेरिका । स्पेन फिफा विश्वकप फुटबल, २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहानका राति खेल सकिन तीन मिनेट बाँकी रहँदा मैदान छिरेका मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई बेल्जियममाथि २–१ को जित दिलाए ।
स्पेनले ३०औँ मिनेटमा फाबियन रुइजको गोलबाट अग्रता बनाएको थियो । तर, ४२औँ मिनेटमा चार्ल्स डे केटेलारेले टिमोथी कास्टान्येको क्रसलाई उत्कृष्ट हेडमार्फत जाली चुमाउँदै बेल्जियमलाई बराबरीमा फर्काए ।
दोस्रो हाफमा चोटका कारण पहिलो रोजाइका गोलरक्षक थिबो कोर्टुवा बाहिरिएपछि बेल्जियमको पोस्ट सेन लामेन्सले सम्हालेका थिए । खेलको अन्त्यतिर पाउ कुबार्सीको टाढाबाट आएको प्रहारलाई लामेन्सले पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा मेरिनोले सहज गोल गर्दै स्पेनको जित पक्का गराए ।
अन्तिम समयमा गोल बेहोरेपछि बेल्जियमको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ । अब स्पेनले फाइनल प्रवेशका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो । यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गर्दा स्पेनको खुसीको सीमा रहेन ।
स्पेन १७औं पटक विश्वकप खेलिरहेको देश हो । हालसम्म तेस्रो सेमिफाइनल यात्रा मात्रै तय गर्न सकेको छ । यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो । सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेर फर्किएको थियो ।

























