रंगेलीमा प्रधानाध्यापकको उल्लेखनीय पहल : तलबको रकम विद्यालयमै लगानी

Share this
686shares
मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ असार २७, शनिबार ०६:३५

रंगेली । मोरङको रंगेली नगरपालिका–९ स्थित पार्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रकाश सिंहले आफ्नै तलबबाट करिब पाँच लाख रुपैयाँ लगानी गर्दै विद्यालयको भौतिक तथा प्रशासनिक सुधारमा उल्लेखनीय पहल गरेका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर, पूर्वाधार, आर्थिक पारदर्शिता र व्यवस्थापनका बारेमा बेला–बेला बहस भइरहेका बेला पार्वती माविमा देखिएको परिवर्तनलाई सकारात्मक उदाहरणका रूपमा हेरिएको छ । करिब दुई वर्षअघि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका सिंहका अनुसार त्यतिबेला विद्यालयको भौतिक अवस्था कमजोर थियो ।

Advertisement

भवनका झ्यालढोका जीर्ण थिए भने विद्यालयको खातामा करिब पाँच सय रुपैयाँ मात्र मौज्दात थियो । विद्यालयको समग्र सुधारलाई प्राथमिकतामा राख्दै उनले सरकारी बजेटको प्रतीक्षा नगरी आफ्नै तलबबाट रकम खर्च गरेका हुन् । उक्त रकमबाट झ्यालढोका मर्मत, आवश्यक पूर्वाधार सुधार तथा विद्यालय परिसर व्यवस्थित बनाउने कार्य गरिएको छ ।

विद्यालयमा १५ वटा सीसी क्यामेरा जडान गरिएपछि सुरक्षा, अनुशासन र शैक्षिक वातावरणमा सकारात्मक परिवर्तन आएको शिक्षकहरूको भनाइ छ । सिंहले प्रदेश सरकार र रंगेली नगरपालिकासँग समन्वय गरी करिब १० लाख रुपैयाँ बराबरको बजेटसमेत विद्यालयका लागि उपलब्ध गराएका छन् । भौतिक निर्माणका केही काम सुरु भए पनि अझै पूर्ण रूपमा सम्पन्न हुन बाँकी छ ।

विद्यालयको खेलमैदानमा वर्षौंदेखि रहेको ठूलो खाल्डोका कारण वर्षायाममा पानी जमेर खेलकुद तथा पठनपाठन प्रभावित हुने गरेको थियो । यसको समाधानका लागि पनि पहल गरिएको सिंहले बताए । हाल विद्यालयमा अति विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका चार सय विद्यार्थी अध्ययनरत छन् । यद्यपि, विद्यालयका केही पुराना भवन अझै जीर्ण अवस्थामा छन् । बर्खाको समयमा छानाबाट पानी चुहिने समस्या कायम रहेको शिक्षकहरूले बताएका छन् ।

शिक्षक अच्युत अधिकारीका अनुसार विद्यालयको दीर्घकालीन सुधारका लागि आफ्नै तलबबाट व्यक्तिगत लगानी गर्ने र निरन्तर पहल गर्ने नेतृत्व आफूले पहिलोपटक देखेको अनुभव गरेका छन् । यस्तो सक्रियताले शिक्षकहरूलाई थप जिम्मेवार र उत्तरदायी बन्न प्रेरित गरेको उनको भनाइ छ ।

प्रधानाध्यापक सिंहका अनुसार विद्यालयले लामो समयदेखि प्रयोग गर्दै आएको जग्गाको स्वामित्व स्पष्ट नभएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी विद्यालयको नाममा कायम गरिएको छ । विद्यालयको नाममा अन्य स्थानमा दुई बिघा जग्गाको लालपुर्जा भए पनि हाल करिब १८ कट्ठा जग्गाबाट मात्र आम्दानी भइरहेको उनले जानकारी दिए । विद्यालयको पूर्वतर्फ रहेको करिब चार कट्ठा जग्गामा हरेक बुधबार र शनिबार हाटबजार लाग्ने गरेको छ । विद्यार्थीहरूका अनुसार त्यसबाट हुने भिडभाड र प्रदूषणले पठनपाठनमा असर पार्ने गरेको छ ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार शाहले चालु आर्थिक वर्षमा पार्वती माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बजेट विनियोजन भइसकेको छ । आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु हुने जानकारी उनले दिए ।

पछिल्ला दुई वर्षमा विद्यालयको भौतिक वातावरण, सरसफाइ, सुरक्षा, अनुशासन र व्यवस्थापनमा उल्लेखनीय सुधार आएको छ । प्रधानाध्यापकको सक्रिय नेतृत्व र व्यक्तिगत योगदानले विद्यालयप्रति समुदायको विश्वाससमेत बढाएको शिक्षणकहरु बताउँछन् । उनीहरुका अनुसार स्रोत साधनको अभावबीच पार्वती माध्यमिक विद्यालयले प्रतिबद्ध नेतृत्व, पारदर्शिता र व्यक्तिगत उत्तरदायित्वका माध्यमबाट विद्यालय सुधार सम्भव हुने सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×