
विराटनगर । मोरङ र सुनसरीको औद्योगिक विकासका लागि निजी क्षेत्र र जनप्रतिनिधिले सक्रियता बढाएका छन् । नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी तथा मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहसहितको टोलीले विराटनगरमा प्रदर्शनी स्थल र अमडुवामा औद्योगिक ग्राम बनाउन सक्रियता देखाएका हुन् ।
सरोकारवालाहरूले मोरङ क्षेत्र नम्बर १ का सांसद यज्ञमणि न्यौपानेसहितको टोलीले विराटनगर–३ को प्रस्तावित बहुउद्देश्यीय औद्योगिक प्रदर्शनी स्थल र सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवास्थित साल्ट ट्रेडिङ (पुरानो सुगर मिल) को जग्गा निरीक्षण गरे ।
अवलोकनका क्रममा उद्योगी प्रकाश मुन्दडाले विराटनगरका चार ठूला व्यावसायिक संस्था मिलेर सार्वजनिक–निजी साझेदारी मोडलमा प्रदर्शनी स्थल र औद्योगिक ग्राम बनाउन तयार रहेको बताए । ‘विराटनगर औद्योगिक सहर भए पनि स्थायी प्रदर्शनी स्थल नहुँदा बर्सेनि ठुलो आर्थिक भार खेप्नु परिरहेको छ,’ मुन्दडाले भने, ‘ अब कानुनी बाधा हटेको छ, सरकारले ध्यान दिए हामी तत्काल काम सुरु गर्न तयार छौँ ।’

परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थललाई ‘मल्टिपल कम्प्लेक्स’का रूपमा विकास गरिने जानकारी दिए । जहाँ व्यवस्थित पार्किङ, सपिङ कम्प्लेक्स, होटेल, रेस्टुरेन्ट र प्रदर्शनी हल रहनेछन् ।
पछिल्लो ३० वर्षदेखि चर्चामा रहेको सुनसरीको अमडुवास्थित ४ सय बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउन उद्योगीहरूले जोड दिएका छन् । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले सरकारले पटक–पटक चासो देखाए पनि काम अघि नबढेकोमा गुनासो गरे । अमडुवामा औद्योगिक ग्राम बनेमा बस्ती र उद्योग बीचको द्वन्द्व समाधान हुने र निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने राठीले बताए ।
सांसद यज्ञमणि न्यौपानेले आयोजना अघि बढाउन सरकार सकारात्मक रहेको बताउँदै स्थानीयको सहमति र कानुनी प्रक्रिया बुझेर प्रधानमन्त्री र उद्योग मन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता जनाए । ‘यदि राज्यका निकायले औद्योगिक विकासका लागि टेरेनन् भने हामी विराटनगरमा आन्दोलन गर्न पनि तयार हुनुपर्छ,’ उनले भने, ‘देशको आर्थिक समृद्धिका लागि यो अपरिहार्य छ ।’
अमडुवाका स्थानीय रामकिशोर यादवका अनुसार २०६२ सालदेखि नै सर्वे हुने गरे पनि काम अघि नबढ्दा दक्षिण भेगका जनता बेरोजगार बस्नुपरेको छ । उद्योग स्थापना भएमा रोजगारी सिर्जना हुने र आर्थिक अवस्था सुध्रिने आशा स्थानीयमा रहेको उनले बताए ।
निरीक्षण टोलीमा मोरङ उद्योग व्यापार संघका सचिव अमित सारडा, उद्योग परिसंघका उपाध्यक्ष दीपक पौडेल लगायतको सहभागिता रहेको थियो ।

























