
काठमाडौं । भाषा र संस्कृतिका संवाहक आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) नेपाल तथा विदेशका नेपाली समुदायबीच विभिन्न साहित्यिक, सांस्कृतिक र स्मरण कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपाली भाषामा ‘रामायण’को भावानुवाद प्रस्तुत गरी जनसाधारणसम्म पुर्याएका भानुभक्तले नेपाली भाषा र साहित्यको विकासमा ऐतिहासिक योगदान पुर्याएका छन् । उनका कृतिले नेपाली समाजमा राष्ट्रिय एकता, सांस्कृतिक चेतना र भाषिक पहिचान सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक घाँसीको प्रेरणाले रामायणलाई नेपाली भाषामा रचना गर्न उत्साहित गरेको जनविश्वास छ । ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ उनका चर्चित कृतिमध्ये पर्दछन् ।
जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न संस्थाले प्रतिमामा माल्यार्पण, प्रभातफेरी तथा साहित्यिक कार्यक्रम आयोजना गरेका छन् । घरघरमा रामायण पाठ गर्ने परम्परा छ ।
भानु प्रतिष्ठान, नेपाली शिक्षा परिषद् तथा अन्य संघ संस्थाका कार्यक्रमसँगै भारतको दार्जिलिङ र सिक्किम, भुटान, म्यान्मारलगायत नेपाली भाषाभाषी समुदाय रहेका स्थानमा पनि भानु जयन्ती मनाइँदैछ ।

























