
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्ने पार्टीको कुनै नीति नरहेको बताएका छन् । पछिल्लो समय मिडिया हाउसमाथि पार्टीको नाम जोडेर लगाइएका आरोपहरूमा कुनै सत्यता नभएको उनकाे जिकिर छ ।
महामन्त्री आचार्यले मिडिया लोकतन्त्रको चौथो अंग र मुख्य खम्बा भएको उल्लेख गर्दै रास्वपा सधैँ वाक् स्वतन्त्रताको पक्षमा उभिने बताए ।
‘प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका आधारभूत स्तम्भ हुन्, जसमा रास्वपाले कहिल्यै सम्झौता गर्न सक्दैन,’ आचार्यले भने, ‘यदि कसैले हाम्रो पार्टीको नाम लिएर प्रेसलाई तर्साउने वा धम्क्याउने कार्य गरेको छ भने त्यो घोर आपत्तिजनक र कानुनी रूपमा गलत छ । यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिनुपर्छ ।’

























