ठगी आरोपमा चिनी मिलका सञ्चालकद्वय पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार १४:०१
ठगेको आरोपमा चिनी मिलका सञ्चालकद्वय पक्राउ

सर्लाही । वर्षौंदेखि उखुको भुक्तानी नपाएर छटपटिएका किसानहरूको मूल्य नतिर्ने चिनी मिल सञ्चालकहरू अन्ततः कानुनी कठघरामा तानिएका छन् । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत बिहीबार नै उनीहरूलाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धानको प्रक्रियासँगै यो विषयले अहिले चर्चा पाएको छ । मिलले उखु खरिद गरे बापत किसानहरूलाई दिनुपर्ने करोडौँ रुपैयाँ लामो समयदेखि रोकेर राखेपछि पीडित किसानहरूले प्रहरीमा उजुरी दिएका थिए ।
मिल सञ्चालकहरूले किसानलाई भुक्तानी दिने बारम्बारको आश्वासन पूरा नगरेपछि ठगी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

किसानहरूको उखुको करोडौँ रुपैयाँ भुक्तानी लामो समयदेखि बाँकी रहेको र त्यसबाट हजारौँ किसानको घर चल्न प्रभावित भएको पाइएको छ । किसानहरूको जाहेरी र ठगीसम्बन्धी गम्भीर आरोपका आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण चिनी मिलले भुक्तानी नदिएकै कारण सर्लाहीका किसानहरू पटक–पटक काठमाडौंसम्म पुगेर आन्दोलन गर्दै आएका थिए । सरकार र मिल सञ्चालकबीच पटक–पटक भएका सहमति कार्यान्वयन नभएपछि आजित भएका किसानहरूले कानुनी उपचार खोजेका हुन् ।

उखु बेचेर छोराछोरीको पढाइ, विवाह र दैनिक गुजारा चलाउने आशमा रहेका हजारौँ किसान परिवारलाई बिचल्लीमा पारेको आरोप लागेका गुप्ता र कलवारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.